समाज

भेटिए देशकै सबैभन्दा होचा व्यत्ति, उचाइ ३१ इन्चमात्र

भेटिए देशकै सबैभन्दा होचा व्यत्ति, उचाइ ३१ इन्चमात्र


विराटनगर । विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइमात्र ३१ इन्च छ । देशभर रहेका होचा व्यक्तिको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिएनन् ।

१३ किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेटेका छन् ।

उनले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्ने भन्दै यस्ता युवकलाई प्रोत्साहन गर्न महानगरपालिकाले मासिक रु तीन हजार आन्तरिक स्रोतबाट उपलब्ध गराउने गरी प्रदान गर्ने घोषणा गरे ।

नेपालमा रहेका र रेकर्ड बनाउने सबै होचा व्यक्तिको निधन भइसकेको छ । प्रमुख पराजुलीले भने–‘प्रकाश नेपालका होचा व्यक्ति नहुन पनि सक्छन्, हुन पनि सक्छन् । तर, यस्ता व्यक्तिलाई प्रोत्साहन गर्नु महानगरपालिकाको कर्तव्य ठानेका छौं ।’

पराजुलीले प्रकाश होचा प्रमाणित भएको अवस्थामा विराटनगरका लागि गौरवको विषय हुने बताए ।

नागरिकता प्राप्त गरिसकेका प्रकाशलाई हालैमात्र विराटनगर–१९ वडाका अध्यक्ष बद्रीनारायण सरदारको सहयोगमा भत्ताबापत मासिक रु दुई हजार दिने गरी रातोकार्ड बनाइएको छ ।

‘मैले धेरै ठाउँमा सोधखोज गरें । तर, प्रकाशको उचाइजस्तो नेपाली नरहेको जानकारी पाएको छु’–वडाध्यक्ष सरदारले भने । संसारकै होचा चन्द्रबहादुर डाँगी २२ इन्चका थिए । उनको निधन भइसकेको छ ।

खगेन्द्र थापामगर ९पोखरा० उचाइ २ फिट २६ इन्च थियो । संसारकै होचा कलाकार काठमाडौंका दीपेन शाहको उचाइ ३१ इन्च थियो । उनको केही महिनाअघि निधन भएको थियो ।

‘नेपालमा सबैभन्दा होचा व्यक्तिबारे सम्पूर्ण तथ्यांक लिएर हामी प्रकाशको पक्षमा केही गर्छौं’–प्रमुख पराजुलीले भने ।

प्रकाशका बाबु नकुवाको क्यान्सरले केही वर्षअघि निधन भइसकेको छ । आमा बिमला घरेलु कामदारकारुपमा काम गर्छिन् । उनका एक दाइ छन्, श्यामसुन्दर ।

प्रकाश विराटनगर–१९ मा स–साना बालबालिकाका साथी बनेर दिनचर्या बिताइरहेका छन् ।

यता, मोरङ, सुन्दरहरैंचा नगरपालिकाले देशकै होची महिला सार्वजनिक गरेको थियो ।

प्रमुख शिवप्रसाद ढकालले सुन्दरहरैंचा–४ निवासी रमेशप्रसाद मुरर ऋषिदेवका १९ वर्षीया छोरी मालती (उचाई ३२ इन्च र वजन १४ किलो) लाई सार्वजनिक गरेका थिए ।

प्रमुख ढकालले नगरपालिकाबाट मालतीलाई सामाजिक सुरक्षा भत्ताबापत मासिक रु दुई हजार उपलब्ध गराउने घोषणा गरेका थिए ।

विशेष