खेल

२६ औं त्रिवेणी कपको उपाधि बेसीशर युथ सोसाइटीलाई

२६ औं त्रिवेणी कपको उपाधि बेसीशर युथ सोसाइटीलाई


लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरमा सम्पन्न २६औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको उपाधि बेसीशहर युथ सोसाइटीले हात पारेको छ ।

बिहीबार बेसीशहरको सहजी रंगशालामा भएको फाइनल खेलमा आयोजक त्रिवेणी युवाक्लबलाई ट्राइबेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै बेसीशहर युथ सोसाइटीले उपाधी चुमेको हो ।

खेलको निर्धारित समय र थप समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । उपाधिपछि बेसीशहर युथ सोसाइटीले त्रिवेणी कपसँगै नगद तीन लाख रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र पाएको छ ।

यस्तै, उपविजेता त्रिवेणी युवा क्लबले नगद १ लाख ५० हजार रुपैयाँ, रजतपदक र प्रमाणपत्र जितेको छ । विजेता टिमलाई जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य र आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष छवीन्द्र गुरुङले संयुक्त रूपमा पुरस्कार वितरण गरे ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी त्रिवेणीका गोलरक्षक आकाश रानाभाट बने । विजेता बेसीशहर युथ सोसाइटीका गोलरक्षक विमल थापाले उत्कृष्ट गोलरक्षक तथा अन्नपूर्ण युवाक्लब नाल्माले अनुसासित टिमको उपाधि पायो ।

खेल अवधिभर सर्वाधिक गोल गरी सुन्दरबजार रातोका इन्द्र दुरा, सामाना युवा क्लब तनहुँ, रड्स फुटबल क्लब चितवनका सावी गुरुङले नगद पुरस्कार र मेडल जिते । सर्वोकृष्ट खेलाडीलाई १५ हजार, अनुशासित टिमलाई १० हजार र सर्वाधिक गोलकर्तालाई ५-५ हजार नगद पुरस्कार दिइएको थियो ।

सेमिफाइनल विजेता सुन्दरबजार युवाक्लब र घरपोखरा युवाक्लबले नगद ५०-५० हजार रुपैयाँ पाएका छन् । प्रतियोगितामा विभिन्न जिल्लाका २३ टिमले सहभागिता जनाएका थिए ।

विशेष