खेल

आईपीएलमा कोहलीको भाउ १७ करोड, कुन खेलाडीले कति पाउने

आईपीएलमा कोहलीको भाउ १७ करोड, कुन खेलाडीले कति पाउने

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०१८ मा कमाईको मामिलामा विराट कोहलीले महेन्द्रसिंह धोनी र रोहित शर्मालाई पनि उछिनेका छन् ।

सबै फ्रेन्चाइज टिमलाई पुराना खेलाडी रिटेन गर्ने अवसर दिइएको थियो, जसमा धेरै टिमले आफ्ना स्टार खेलाडीलाई करोडौं खर्च गरेर टिममै राखेका छन् ।

रोयल च्यालेन्जर्स बैंग्लोरले कोहलीलाई १७ करोड भारु दिएर रिटेन गरेको छ । जबकी दुई वर्षको प्रतिवन्धपछि आईपीएलमा फर्किएको चेन्नई सुपर किङ्गसले धोनीलाई १५ करोड भारु दिएर टिममा राखेको छ ।

मुम्बई इण्डियन्सले पनि शर्मालाई १५ करोड दिएर टिममा राख्ने निर्णय लिएको छ । चेन्नईले तीन खेलाडीलाई रिटेन गरेको छ, जसमा सुरेश रैना ११ करोड र रविन्द्र जडेडा ७ करोड भारुमा छन् ।

प्रतिवन्ध हटेपछि आईपीएलमा फर्किएको राजस्थान रोयल्सले भने पुराना खेलाडीमा स्टिभ स्मिथलाई मात्र रिटेन गरेको छ, उनी १२ करोडमा रिटेन भएका हुन् ।

सनराइजर्स हैदरावादले डेभिड वार्नरलाई १२ करोड र भुवनेश्वर कुमारलाई ८.५ करोडमा टिममा राखेको छ । तर, कोलकत्ता नाइट राइडर्सले गौतम गाम्भीरलाई, बैंग्लोरले क्रिस गेललाई, सनराइजर्स हैदरावादले युवराज सिंहलाई रिटेन गरेन ।

किङ्गस इलाभेन पञ्जाबले अक्षर पटेललाई ६.७५ करोडमा टिममा राख्दा कोलकत्ता नाइट राइडर्सले सुनिल नरिनलाई ८.५ करोड र आन्द्रे रसेललाई ७ करोडमा टिममा राखेको छ । बाँकी खेलाडीको लिलामी राइट टु म्याच जनवरीको अन्तिम साता हुनेछ ।

विशेष