समाज

फोहर फ्यालेको फोटोसहितको प्रमाण देखाए 'सुराकी भत्ता' पाइने

फोहर फ्यालेको फोटोसहितको प्रमाण देखाए 'सुराकी भत्ता' पाइने

मोरङ । विराटनगर नगर क्षेत्रलाई वातावरणमैत्री र स्वच्छ सहर बनाउने अभियानअन्तर्गत सुराकी भत्ता प्याकेज ल्याउन लागिएको छ। महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा कडाइ गर्ने नीति अख्तियार गर्दै भत्ताको व्यवस्था गर्न लागेको हो।

यो प्याकेजमा जसले फोहर फ्यालेको हो उसको फोटोसहितको प्रमाण देखाएर सुराकी दिनेलाई भत्ताको व्यवस्था गरिन्छ। यो नीति गरेपछि गाउँघरबाट सडकमा फ्याँकिने फोहरमा केही सुधार आउने अपेक्षा महानगरपालिकाले गरेको छ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले फोटोसहितको सुराकी दिनेलाई प्रोत्साहनस्वरुप भत्ता दिने व्यवस्था मिलाउन लागिएको बताए। दिनप्रतिदिन बढ्दै गएको फोहरमैलाको विकराल समस्यालाई न्यूनीकरण गर्न महानगरपालिकाले पहिलो पटक यस्तो योजना ल्याउन लागेको प्रमुख पराजुलीले बताए। 'प्रोत्साहन भत्ता दिएर भए पनि सहरलाई सभ्य बनाउनुपर्ने दायित्व बढेको छ,' पराजुलीले भने, 'बोर्ड बैठक बसेर यसबारेमा हामी चाँडै निर्णयमा पुग्छौं।'

विराटनगर नगर क्षेत्रमा दैनिक ९० मेट्रिक टनसम्म फोहर उत्पादन हुने गरेको छ । सहरी क्षेत्रमा उत्पादन हुने यस्ता फोहरका कारण नगर क्षेत्र दुर्गन्धित हुँदै आएको छ।

विराटनगरको गुद्री, मेनरोड, देवकोटा चोक, गुद्री, बरगाछी, तिनपैनी चोकबाट निस्कने फोहर घरबाट फ्याँकिने गरेको छ। पटकपटक सचेत गराउँदा समेत अटेर गरेपछि महानगरपालिकाले यस्तो कडाइ गर्न लागेको वातावरण शाखाका इञ्जिनियर घनश्याम काफ्लेले बताए। नर्सिङ होम, वित्तीय संस्थान, पसलबाट निस्कने फोहरको व्यवस्थापन मुख्य समस्या देखिएको इञ्जिनियर काफ्लेको भनाइ छ।

विशेष