समाज

सफाइ महाअभियान : उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

सफाइ महाअभियान : उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइको २४३औं हप्तामा शनिबार कोटेश्वर महादेवस्थान वाग्मती पुल क्षेत्रमा सफाइ गरी ६ मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा वाग्मती सफाइ महाअभियानका सुरुवातकर्ता एवम् चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा अधिकृतको तालिम गरिरहेका १०० प्रशिक्षार्थीलगायतको सक्रियता थियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकारसम्पन्न वाग्मती समिति, काठमाडौं महानगरपालिकालगायतको संस्थागत सहभागिता रहेको थियो । सो अवसरमा घरदैलो जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरिएको सफाइ अभियन्ता एवम् अधिकारसम्पन्न वाग्मती समितिकी सन्चालक सदस्य माला खरेलले जानकारी दिइन् ।

सफाइमा ३० संस्थाका ८०० भन्दा बढी अभियन्ता सहभागी थिए । नेपाल आयल निगमले ३९औं वार्षिकोत्सवका अवसरमा शनिबार वाग्मती सफाइमा सहभागिता जनाएको थियो । गुह्येश्वरमाथिको वाग्मती सफाइको २०४ हप्ताका अवसरमा आज वाग्मती स्तम्भ, गोठाटार पुल र हनुमानघाट क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइसँगै नदी किनारमा रोपिएको बगैँचामा गोडमेल गरी पानी हालिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

सफाइमा प्रदेशसभा सदस्य रामेश्वर फुयाँललगायत अभियन्ताको सक्रियता थियो । विसं २०७० फागुन ३ गतेदेखि गुह्येश्वरमाथिको वाग्मती सफाइ अभियान सुरु भएको थियो । वाग्मती किनारकै मानिसलाई सफाइमा सक्रिय गराउने उद्देश्यअनुरुप अभियान सन्चालन भइरहेको छ ।

रुद्रमती सफाइको १९८औं हप्तामा शनिबार आनन्द भैरव मन्दिर ज्ञानेश्वर–शहीदमार्ग–कालोपुलसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायत संघसंस्थाका २०० भन्दा बढी अभियन्ताको सक्रियता थियो ।

विष्णुमती नदी सफाइको १७१औं हप्तामा शनिबार टोखा नगरपालिका–११ बानियाँटारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता बिजेन्द्र लामाले जानकारी दिए । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

कपास पसल सन्चान गर्दै आएका एक व्यक्तिले फोहर विष्णुमतीमा फाल्दा फाल्दै रंगेहात पक्राउ गरेकाले टोखा नगरपालिका–११ ले सफाइका लागि आवश्यक पर्ने १५ थान डोको, तीन–तीन बट्टा मास्क र पञ्जा जरिवाना गरिएको थियो । नदी किनारमा फोहर फाल्ने एक जनालाई शनिबार कारबाही गरिएको विष्णुमती सफाइ अभियानले जनाएको छ ।

चक्रपथ सफाइको ३९औं हप्तामा शनिबार धूम्बाराही चोकदेखि सुकेधारा चोकसम्म सफा गरेर १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा खेम्स क्लिनिङका अध्यक्ष खेम शर्मालगायतको सहभागिता थियो । सफाइमा १७ वर्षीय केपी खनाल ‘म बदलिन्छु मेरो देश बदलिन्छ’ सफाइ काष्ठमण्डप भन्ने नारा बोकी दाङदेखि काठमाडौं आएर सफाइमा सहभागिता जनाएको अभियन्ता लोकबहादुर टण्डनले जानकारी दिए ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र सर्वसाधारण गरी ५३० जना अभियन्ताको उपस्थिति थियो । मीनभवन आलोकनगर सफाइको ३९ औं हप्तामा शनिबार यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता प्रमिला पौडेलले जानकारी दिइन् ।

चक्रपथ वाफल खन्डको २१औं हप्ताको सफाइका क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा र सडक विभागको सहकार्यमा अनधिकृत रुपमा सडक किनारमा निर्माण गरिएका बालुवा, रड, डण्डीलगायत निर्माण सामग्रीका पसल हटाइयो । यस क्षेत्रको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता ताराबहादुर कुँवरले बताए । विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएपछि हाल देशका ४५ भन्दा बढी स्थानमा जागरण फैलिएको छ ।

garbage management

विशेष