समाज

दुई करोड १० लाख रुपैयाँ सक्न प्रधानमन्त्री कार्यालयका कर्मचारीकाे विदेश भ्रमणकाे लर्काे

दुई करोड १० लाख रुपैयाँ सक्न प्रधानमन्त्री कार्यालयका कर्मचारीकाे विदेश भ्रमणकाे लर्काे

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ७० कर्मचारी अध्ययन–अवलोकनका नाममा विभिन्न देश उड्ने तयारी गर्दैछन्। प्रधानमन्त्री कार्यालयका खरिदार, सुब्बादेखि सचिवसम्मका कर्मचारी संघीयताको अध्ययन गर्न भन्दै विदेश जान लागेका हुन्।

प्रधानमन्त्री कार्यालयले वैदेशिक अध्ययन, भ्रमण, अवलोकन शीर्षकमा विनियोजन गरेको दुई करोड १० लाख रुपैयाँ सक्न कर्मचारीहरू एकपछि अर्को गर्दै विदेश उड्न लागेका हुन्। प्रधानमन्त्री कार्यालयको प्रशासन महाशाखाका अधिकारीले अन्य महाशाखाको समन्वयमा विदेश जाने कर्मचारीको सूची बनाइरहेका छन्।

पदीय रूपमा को–को जाने तय भए पनि नाम टुंगो लाग्न बाँकी रहेको कार्यालयले जनाएको छ। यद्यपि भ्रमणमा जान छुट्टाछुट्टै सात टोली बनाइएको छ। सातमध्ये ६ वटाको नेतृत्व छुट्टाछुट्टै सचिवले गर्ने र एउटा टोलीको नेतृत्व सहसचिवले गर्नेगरी सूचीलाई अन्तिम रूप दिइँदै गरेको जानकारी दिइएको छ।

पुसको अन्तिम साता वा माघको पहिलो सातादेखि कर्मचारीको भ्रमण सुरु हुने र वैशाखसम्म यो क्रम जारी रहने गरी भ्रमण तालिका बनाइएको छ। प्रधानमन्त्री कार्यालयमा झण्डै दुई सय कर्मचारी कार्यरत छन्। तीमध्ये सात वटा टोलीमा कम्तीमा ७० कर्मचारी पर्नेछन्।

प्रधानमन्त्री कार्यालयका अनुसार सचिवको नेतृत्वमा रहने छुट्टाछुट्टै टोलीले थाइल्याण्ड, कम्बोडिया, मलेसिया, सिंगापुर, इण्डोनेसिया, श्रीलंका, माल्दिभ्स, कोरिया, चीन, फिलिपिन्स भियतनामलगायत देशको भ्रमण गर्नेछ। अाजकाे अन्नपूर्ण पाेष्टमा खबर छ । 

विशेष