समाज

मेरो ग्रहदशा ठीक थिएन, त्यसैले निर्वाचन हारेँ - अध्यक्ष कमल थापा

मेरो ग्रहदशा ठीक थिएन, त्यसैले निर्वाचन हारेँ - अध्यक्ष कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले आफ्नो पराजयको कारण ‘ग्रहदशा’ रहेको बताएका छन्। तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले आफ्नो ग्रहदशा ठीक नभएका कारण पराजय भोगेको सुनाए। उनले भने, ‘मेरो ग्रहदशा ठीक थिएन। त्यसैले निर्वाचन हारेँ।’ 

करिब डेढ सयभन्दा बढी सदस्य सहभागी हल खचाखच भरिएको थियो। पार्टी अध्यक्षले नै ग्रहदशा बिग्रेकाले चुनाव हारेको बताएपछि केन्द्रीय सदस्यहरू गलल हाँसे। पार्टी अध्यक्ष थापाले अगाडि भने, ‘तपाईंहरू हाँस्नुभयो तर यो सत्य हो।’ उनले आफ्नो भनाइ थप पुष्टि गर्दै भने, ‘मलाई चुनावअघि ज्योतिषीले तपाईं चुनाव नलड्नुस् भनेकै हुन् तर मैले त्यसलाई विश्वास नगरेर उम्मेदवारी दिएँ।’

आफूलाई सुरुमा ज्योतिषीको भनाइमा विश्वास नलागेको भन्दै उनले कांग्रेससँग गठबन्धन भएका कारण चुनाव जित्नेमा विश्वस्त रहेको सुनाए। ‘ज्योतिषीको भनाइ गलत सावित गर्न चुनाव लडेँ तर पराजित भएँ’, उनले बैठकमा भने, ‘ग्रहदशा बिग्रेकै कारण चुनावमा हारियो।’

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पराजयको नैतिक जिम्मेवारी आफूले लिने भन्दै नेतृत्व भने नछाड्ने बताए। उनले भने, ‘पार्टी पराजित भएपछि केही समयका लागि पद छाड्ने मनसाय मैले बनाएको थिएँ तर केन्द्रीय सदस्यहरूले मेरै नेतृत्वको आवश्यकता खोजेपछि मैले त्यो मनसाय त्यागेको छु। यद्यपि, तपाईंहरूमध्ये अधिकांशले मेरो राजीनामा माग्नुभएको छ।’ आजको अन्नपूर्ण पाेष्टमा खबर छ ।

विशेष