तीन शवदाह गृह स्थानीय समुदायलाई हस्तान्तरण
पोखरा । यहाँको मुख्य पानीको स्रोत मर्दीखोला क्षेत्रमा निर्मित तीन शवदाह गृह स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ।
पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा सिदिङ, सैंतीघट्ट र खोराको मुखमा निर्मित शवदहन गृह प्रदेशसभाका नवनिर्वाचित सदस्य रामजी बरालले शुक्रबार स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरे।
शवदहन गृह निर्माणका लागि उद्योग वाणिज्य संघ, पोखरा लेखनाथ महानगरपालिका र नेपाल खानेपानी संस्थानले आर्थिक सहयोग प्रदान गरेका थिए। सार्वजनिक शौचालयसहित पानीको धारासहितको प्रत्येक शवदहन गृह निर्माणको लागत १० लाख ४२ हजार छ।
शवदहन गृह निर्माणसँगै पोखरा आउने पानीको मुहानमा शव नजलाइने भएको छ। शवदहन गृह नदीको माथिल्लो भागमा बनाइएको तथा भष्म सेफ्टी ट्यांकी निर्माण गरी नदीमा पुग्न नदिने व्यवस्था मिलाइएको छ।
मर्दीखोला क्षेत्रका ल्वाङ, रिभान, धिताल, लाहाचोक र सेती दोभानमा पनि शवदहन गृह निर्माण प्रक्रिया अगाडि बढेको उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पलिखेले बताए उनका अनुसार उक्त क्षेत्रमा थप शवदहन गृह, सार्वजनिक शौचालय तथा लुगा धुने ठाउँ निर्माणका लागि पहल भइरहेको छ।