सुलेमान शंकरका १२ सन्तान, जो जीवनका आधार हुन् (भिडियोसहित)
प्रविण दाहाल
काठमाडौं । बहुचर्चित टेलिसृंखला ‘मेरी बास्सै’ का प्रारम्भिक अंकहरु हेर्नुभएको थियो भने, एउटा ‘बनमान्छे’ पक्कै याद होला । जसले अति कम बोल्थ्यो तर उसको हाउभाउ र अभिनय निकै रोचक थियो । चिउँडोको टुप्पोमा झुस्स दाह्री । जिंग्रिङ्ग कपाल । कम्मरमुनि जंगली पातको कपडाको परिहन । शरिरको माथिल्लो भाग नांगै भएको त्यो ‘बनमान्छे’ हिँड्न जान्दैनथ्यो तर ‘ईकु–ईकु’ भन्दै उफ्रिन्थ्यो ।
‘ईकु’ को त्यो रोचक भुमिकालाई ‘मेरी बास्सै’ का थुप्रै दर्शकले मन पराए । अन्ततः सिरियलमा खुम्चिएका उनै ‘ईकु’ अर्थात् सुलेमान शंकर ठूलो पर्दामा उत्रिए ।
थुप्रै फिल्ममा अभिनय गरिसके । ‘ईकु’, ‘ईकु ब्याक अगेन’ लगायत उनका झण्डै आधा दर्जन फिल्म बजारमा छन् ।
सुलेमानको जीवन पर्दामा जति रोचक देखिन्छ यथार्थमा संघर्षले भरिएको छ । विभिन्न पारिवारिक झमेला पनि झेल्दैआएका ‘ईकु’ले १२ बालबालिका पाल्दैआएका छन् । र तिनै १२ सन्तान आफ्नो बाच्ने आधार ठान्छन् उनी ।
१२ सन्तान बाच्ने आधारः
सुलेमानले महाभूकम्पपछि १२ जना अनाथ बालबालिका पाल्न थालेका हुन् । समाजसेवाको रुपमा ति बालबालिकाको पालनपोषण सुरु गरे पनि बिस्तारै तिनीहरुसँग यस्तो बलियो सम्बन्ध भयो कि, ‘ईकु’ आफ्नै सन्तान मान्छन् । सार्वजनिक रुपमै उनी ति बालबालिकालाई छोरा–छोरी भन्छन् । ‘बाँच्ने आधार पनि यीनै छोरा–छोरी हुन्,’ सुलेमानले भने, ‘उनीहरु भएनन् भने त बाँच्नै गाह्रो हुन्छ ।’
‘ईकु’को ब्यस्तताः
अभिनय, विदेश भ्रमण साथै समाजसेवाको कामले ब्यस्त रहँदैआएका सुलेमान पछिल्लो समय नयाँ फिल्मको काममा बढी केन्द्रित छन् ।
उनको नयाँ फिल्म ‘फिर्के’ शुक्रवार सार्वजनिक भयो । लामो समयको मेहनतपछि तयार भएको ‘फिर्के’मा सुलेमान स्वयं सहित अर्पण थापा, ऋचा शर्मा, क्रिस्टिना पौडेल, विष्णु सापकोटा लगायत कलाकारको अभिनय छ ।
रवि डंगोलले निर्देशन गरेको यस फिल्म धेरै दर्शकले मन पराएको बताउँछन् सुलेमान । रोचक कथावस्तु सहित कलाकारहरुको अभिनय अब्बल भएको उनको भनाइ छ ।
फिल्म क्षेत्रमा लामो लगाव र लोकप्रियताका बीच धेरै प्रशंसक भए पनि ‘ईकु’ आफूलाई सामान्य मानिस ठान्छन् । ‘म आफूलाई आम मानिस ठान्छु । बाटोमा हिँड्दा म कहिल्यै पनि ठूलो हुँ । कलाकार हुँ भन्ने भावना आउँदैन । म अरुको लागि बाँच्न चाहान्छु ।’ सुलेमानले भने । ‘ईकु’सँग नेपालआजका संवाददाता प्रविण दाहालले गरेको भिडियो अन्तरवार्ता ः