प्रहरीमा जागिरे श्रीमान्की पत्नीकाे छाउ गोठमा मृत्यु
अछाम । अछामको तुर्माखाँद गाउँपालिका वडा नं ३ भैरवस्थानमा आइतबार राति महिनावारी भएको बेला घरदेखि टाढा छाउपडी गोठमा सुतेकी २२ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी छन्।
वीरेन्द्र बुढाकी श्रीमती गौरी बुढाको छाउपडी गोठमा एक्लै सुतिरहेको अवस्थामा गएराति मृत्यु भएको परिवारले जानकारी दिएका हुन्।
मृतक बुढा तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ मा अध्ययनरत रहेको बुझिएको छ। बेलुकीपख खाना खाएर सुतेकी गौरी बिहान अबेरसम्म नउठेको र ढोका फोरेर हेर्दा मृतावस्थामा भेटिएको मृतकका ससुरा डम्बरबहादुर बुढाले जानकारी दिएका छन्।
मृत्यु हुनु अघिल्लो दिनभर मेलामा खर काटेको र उनी बिरामी भएको बुढाले जानकारी दिए। नेपाल प्रहरीमा जागिरे मृतकका श्रीमान् काठमाडौँबाट फर्केपछि मात्र उनको मंगलबार दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ।
महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालन गरेको छाउपडी प्रथा निवारण परियोजनाले भैरवस्थान गाविसलाई दुई वर्ष पहिले छाउपडी गोठमुक्त घोषणा गरेको हो।