‘रामवीरले प्रलोभनमा परेर राजीनामा दिनु हुँदैन’ (भिडियोसहित)

काठमाडौं । संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चर्चित वामदेव गौतमको काठमाडौं–७ बाट चुनाव लड्ने योजनाका सम्बन्धमा सांसद रामवीर मानन्धरले आधिकारिक रूपमा आधिकारिक राजीनामा नदिएको बताएका छन् ।
नेपाल आजसँग समसामयिक विषयवस्तुमाथि बिहीबार विशेष कुराकानी गर्दै मन्त्री पण्डितले भने, ‘वामदेवजीको चुनाव लड्ने सम्बन्धमा पार्टीले कुनै आधिकारिक धारणा नल्याएकाले अहिले बीच बीचबाट उठेको कुरालाई बीच बीचबाटै धारणा बनाउन उपयुक्त हुँदैन र मलाई व्यक्तिगत रूपमा जसलाई जुनबेला जनताले मेहनत पसिनासाथ जिताएको हुन्छ फुट्ट राजीनामा दिएर भाग्न वा कुनै प्रलोभनमा परेर राजीनामा दिनु उपयुक्त होइन भन्ने मलाई लाग्छ ।’
मन्त्री पण्डितलाई वामदेव गौतम प्रतिनिधिसभामा आउनु उपयुक्त हुन्छ वा हुँदैन भनी प्रश्न गर्दा उनले भने, ‘व्यक्तिगत इच्छा एउटा कुरा हो । सामूहिक निर्णय अर्को कुरा हो । उहाँको व्यक्तिगत इच्छा हुनु र नहुनुमा ठूलो तात्विक अन्तर राख्दैन । सामूहिक रूपमा पार्टीले कुनै निर्णय नगरेको हुनाले गर्दा अहिले प्रतिक्रिया दिनु हतार हुन्छ । हतार गर्नु हुँदैन ।’
हालै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मलाई टेर्न छाडे’ भन्ने अभिव्यक्ति दिएको सम्बन्धको मन्त्री पण्डितको धारणा जान्न खोज्दा उनले भने, ‘सरकार जनतालाई सेवा प्रवाह गर्न उच्च मनोबलका साथ लागिरहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सरकार एवं मरो पनि मनोबल घटेको छैन ।’
निर्मला हत्या काण्डका विषयमा उनले भने, ‘छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्छ । त्यहाँ केही जटिलता देखिएको छ । गृहप्रशासन त्यता केन्द्रित छ । गृहमन्त्रीले प्रतिबद्धता जनाउनु भएको छ । उहाँ अपराधीलाई दण्डित गर्न कटिबद्ध हुनुहुन्छ । उहाँले भन्नु भएको छ, छिट्टै अपराधी दण्डित हुन्छ भन्नेबारे हामी आशावादी छौँ र विश्वास पनि गर्छौं । निर्मला हत्याकाण्डमा अपराधीलाई चाँडै कारबाही होस् भन्ने देखिएको छ । त्यो हुनुपनि पर्छ । जहाँ अपराधपूर्ण क्रियाकलाप हुन्छ । अपराधीलाई छिटो दण्डित गर्ने अवस्थामा हामी पुग्यौं भने अपराधीको मनोबल पनि घट्छ र अपराध पनि घट्छ । त्यसकारणले अपराधका धेरै हाँगाबिँगा हुन्छन् र धेरै कारणले अपराध घट्ने बढ्ने गर्छन् । हाम्रो चाहना अपराधलाई घटाउने हो र अपराध हुन नदिने हो । अपराधीलाई दण्डित गर्ने नै हो । केही कमजोरी देखिएको छ । कमजोरीको भविष्यमा सुधारका लागि गृहप्रशासन केन्द्रित छ ।’
एक अर्को प्रश्नमा मन्त्री पण्डितले एक वर्षभित्र जनजीवनमा परिवर्तनको अनुभूति हुने गरी वर्तमान सरकारले काम गरिरहेको बताए ।
उनले कुराकानीका क्रममा छिट्टै संघीय तथा प्रादेशिक निजामती ऐन र नियमावली तथा स्थानीय सेवा ऐन पनि पुस मसान्तभित्र बनिसक्ने जानकारी दिए ।
मन्त्री पण्डितले भ्रष्टाचार र अनियमितता न्यूनीकरण गर्न मालपोत, भूमिसुधार र अध्यागमनलगायत सरकारी कार्यालयमा लामो समयसम्म कार्यरत कर्मचारीहरूलाई हटाएर नयाँ कर्मचारीहरू पठाउने तयारी गरिरहेको जानकारी पनि दिँदै उनले वर्तमान सरकारले इतिहासमै पहिलो पल्ट छुवाछूटसम्बन्धी दण्डनीय करारका कडा कानुन ल्याउन सफल भएको दाबी गरे ।
मन्त्री पण्डितले एक प्रश्नको क्रममा स्थानीय निकायले लगाएको अस्वाभाविक कर केन्द्र सरकारले रोक्न वा हटाउन लगाएको चर्चा गर्दै केन्द्र सरकारले कर नबढाएको स्पटोक्ति दिए ।
उनले संघीयता नेपालका लागि नितान्त नयाँ प्रयोग भएकाले सिक्दै, बुभm्दै लागू गर्दै नेपाललाई सफल संघीय गणतान्त्रिक नेपाल बनाउने दृढता व्यक्त गरे ।