मुख्य समाचार

नेता बाँस्तोलाको निधनमा शोक प्रस्ताव पारित

नेता बाँस्तोलाको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनमा आइतबार शोक प्रस्ताव पारित गरेको छ । 

 

 


पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार अपराह्न बसेको बैठकले उनको निधनले बौद्धिक, निष्कलंक, प्रखर र क्रान्तिकारी नेतालाई गुमाएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । 

 

 

नेता बाँस्तोलाप्रति उच्च सम्मान प्रकट गर्दै पार्टीले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

 

 


यही असोज २९ गते केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय बन्द गर्ने काङ्ग्रेसले जनाएको छ । स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा श्रद्धाञ्जलि पुस्तिका राख्ने र १३ औं दिन शोकसभा गर्ने निर्णय कांग्रेले गरेको छ । 

 

 


नेता बाँस्तोलाको आइतबार राति ललितपुर खुमलटारस्थित आफ्नै निवासमा उपचारका क्रममा निधन भएको थियो । विसं २०६९ पुस १४ गते मोरङको एक सार्वजनिक कार्यक्रममा सहभागी भएका बेला मस्तिष्काघात भई उनी अचेत भएका थिए । त्यसैबेलादेखि नेता बास्तोलाको उपचार भइरहेको थियो । 

 

 


बनारस हिन्दू विश्वविद्यालयमा पढ्दैदेखि राजनीति शुरु गर्नुभएका बाँस्तोला प्रजातान्त्रिक समाजवादी युवा लिगको स्थापनादेखि काङ्ग्रेस राजनीतिमा सक्रिय भएका थिए । काँग्रेसको नेतृत्वमा भएका हरेक आन्दोलनमा उहाँले अग्रणी भूमिका निर्वाह गरे । 

 

 

विसं २०२५ मा बिपी कोइराला निर्वासित भई भारत गएपछि बाँस्तोलाले सशस्त्र संघर्षको तयारी गरेका थिए । विसं २०६२ मा सात राजनीतिक दल र तत्कालीन नेकपा माओवादीबीच १२ बुँदे समझदारीको पृष्ठभूमि तयार गर्नमा समेत उनको महत्वपूर्ण भूमिका थियो । 

 

 


बाँस्तोलाले पर्यटन तथा नागरिक उड्डयन, गृह, परराष्ट्र, कृषि मन्त्रालयको कार्यभार सम्हाल्नुभएको थियो । उनले भारतका लागि नेपालको राजदूत रहेर समेत काम गरे । 

 

 

उनको जन्म विसं २००३ मंसिर ११ गते भएको थियो । बाँस्तोलाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । आइतबार नै पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिने काँग्रेसले जनाएको छ । 

चक्रप्रसाद बास्तोला नेपाली काँग्रेस

विशेष