अन्तरवार्ता स्वास्थ्य

‘रक्सी खाएर फाइदा हुन्छ भनेर कतै लेखिएको छैन' (भिडियोसहित)

‘रक्सी खाएर फाइदा हुन्छ भनेर कतै लेखिएको छैन' (भिडियोसहित)

काठमाडौं । दशैंमा नेपालीहरूको बानी नै छ , भेट्टाएजति सबै खाने र स्वास्थ्यको ख्याल नगर्ने । यस्तो अवस्थामा पाठकहरूको स्वास्थ्यलाई मध्यनजर गरेर नेपाल आजले स्वास्थ्य तथा जनस्वास्थ्य विज्ञ डा. तुल्सीराम भण्डारीसँग कुराकानी गरेकोे छ । विशेषगरि दशैंमा स्वास्थ्यलाई ध्यान दिएर खाना कसरी खाने र चाडवाडवाहेक अन्य समयमा पनि आदर्श भोजन कसरी गर्ने भन्नेबारे उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ।


आदर्श खाना

आदर्श खानामा तीनवटा चिजलाई मुख्य रुपमा ध्यान दिनुपर्छ । हामी दैनिक काम गर्छौं । त्यसको लागि शक्ति दिने खाना, वृद्धि विकास हुने खाना, रोगहरुबाट आक्रमण नहोस भनेर खाने खाना । यो सँगै चाडवाड मनाउने हाम्रो आफ्नो संस्कृती छ । चाड मनाउने क्रममा केही समस्या पनि छ । अव्यवस्थित शैलीमा खाना खाने । जस्तो खसी कुखुरा काट्ने, तिहारमा सेल रोटी खाने, जाँड रक्सी खाने । यस्तो समयमा विशेष ख्याल गर्नुपर्छ । 

 

आदर्श खाना भनेको दैनिक खानामा कार्बोहाइड्रेटको मात्रा घटाउने, खाना धेरै खाएर तरकारी थोरै खाने गर्नु हुँदैन । खानामा चिल्लोको मात्रा घटाउने, रेसादार वस्तुको मात्रा बढाउने, नुनको मात्रा घटाउने, ५ ग्राम भन्दा बढी नुन खानु स्वास्थ्यको लागि फाइदा हुँदैन, गुलियो घटाउने र पानीको मात्रा बढाउने र तयारी खाना नखाने । यसरी खाना सुधार्याैं भने यस्तो खानालाई आदर्श खाना भनिन्छ ।

 

विशेषगरि चाडवाडको समयमा मानिसहरू बिदामा बस्छन्, प्रशस्त चिल्लो र मासु खान्छन्, सँगै केही समुदायमा मादक पर्दार्थ सेवन गर्छन् । यस्तो हुँदा स्वास्थको दृष्टिकोणले अस्व्स्थ्य भइन्छ । दशैंको समयमा अत्याधिक मात्रामा मासु खाइन्छ । अहिले एफएओले ७० ग्राम मासु खाए पुग्छ भनेको छ । तर यस्तो अवस्था छैन । 


मासु धरै खानुका बेफाइदा

मासु धेरै खाँदा रक्तसञ्चार बिग्रिने, मुटुको रोग लाग्ने, क्यान्सरजस्ता रोगको खतरा हुन्छ । यसका साथै धेरै मासु खानाले वजन बढ्छ, मधुमेहको लागि यो एकदमै खतरा हुन्छ । दशैंमा आयात हुने खसी कसरी पालिएके छ, त्यसले हुर्किदा कस्ता औषधी खाएको छ भन्नेबारे ख्याल गरिदैंन । न त राज्यले खसी जाँच गर्न क्वारेन्टाइन चेकको व्यवस्था नै गरेको छ । एन्टिबायोटिक खाएको खसी खायो भने मान्छेलाई एन्टिबायोटिकले काम गर्दैन । त्यसकारण व्यक्ति आफैं पनि सचेत हुनुपर्छ । 

 

स्वास्थ्य शैलीमा मासु यसरी बनाउने

मासु आफैंमा चिल्लो प्रोटिनयुक्त चिज हो । त्यसलाई चिल्लो हालेर, मसला राखेर, फ्राइ गरेर, सेकुवा बनाएर, डढाएर खानु एकदमै हानिकारक हुन्छ । मासु नै खानु छ भने त्यसलाई ब्वाइल गरेर राम्ररी पकाएर थोरै नुनको मात्रा राखेर खायो भने शरिरलाई फाइदा गर्छ । 

 

मासु खानै हुँदैन भन्ने होइन । मासु खाँदा आफ्नो अवस्था के छ त्यो बुझ्नुपर्छ । बोसोको माक्र कम भएको मासु खानुपर्छ । खसी बोकाको साटो हाँस कुखुराको मासु खान सकिन्छ । 

 

रक्सी खाएर फाइदा छैन

रक्सी खाएर फाइदा हुन्छ भन्नु भ्रम हो । मैले जनस्वास्थ्यको क्षेत्रमा काम गरेको १५ वर्ष भन्दा बढी भइसक्यो । अहिलेसम्म रक्सीबाट फाइदा हुन्छ भन्नेबारे भएको अध्ययन भेटेको छैन । 
जो मानिसहरू धेरै रक्सी खान्छन् उनीहरूको रक्सीसँग ‘डिपन्डेन्सी’ मात्र बढेको छ । अरु केही होइन । 

 

गाँजाले फाइदागर्छ भन्नु पनि भ्रम हो । गाउँघरमा गाँजा खेती गर्छन्, मान्छेले कच्चा पदार्थ सूर्तीजन्य पदार्थसँग मिलाएर खाने रहेछन्, पछि लागू औषधी र मध्यपानमा पनि उनीहरू नै सत्रिय हुने हुन् । उनीहरूको सञ्जाल नै हुने रहेछ । अध्ययनले देखाएअनुसार लागू औषधीमा थुप्रै व्यक्तिको हात हुने रहेछ । पोखरा, बुटवल, भैरवा, नायायणघाट, धरानमा धेरै कारोबार हुने रहेछ ।

 

उनीहरूसँग बसेर कुरा गर्दा भारतबाट त्यहाँका व्यापारीले सप्लाइ गर्छन्, बोर्डर कटाउँदा केही प्रहरी प्रशाशनले सहयोग गर्छन्, औषधी पसले लेपनि यसकोे व्यापार गर्ने हँदा सबैतिर तिनिहरूको संयन्त्र छ । यो संयन्त्र सरकारले पत्ता नलागेसम्म लागू औषधी कम गर्न सक्दैन । सप्लाईगर्न बच्चालाई प्रयोग गर्ने रहेछन् ।

दशैं स्वास्थ्य तथा जनस्वास्थ्य विज्ञ डा. तुल्सीराम भण्डारी

विशेष