एएफसी यु–१९ महिला टोलीको बिदाई
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थाइल्याण्डमा हुने एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट खेल्न जाने नेपाली टोलीको बिदाई गरेको छ ।
यही कात्तिक ७ देखि ११ गतेसम्म थाइल्यान्डको चोनबुरी रंगशालामा हुने उक्त छनोट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरे ।
गत असोजमा भूटानमा भएको साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल यसपटक शीर्ष स्थान हासिल गर्ने लक्ष्यका साथ सोमबार थाइल्याण्ड जान लागेको हो ।
छनोट खेलमा नेपाल समूह बी मा परेको छ । नेपालको समूहमा आयोजक थाइल्याण्डसहित भारत र पाकिस्तान छन् । नेपालले आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग खेल्नेछ ।
कात्तिक ९ गते हुने दोस्रो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्नेछ भने छनोटको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो चरणमा विभिन्न छ समूहमा २५ राष्ट्रले प्रतिस्पिर्धा गर्दैछन् ।
जसमा समूहका शीर्ष स्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा प्रवेश पाउने छन् भने प्रत्येकका समूहबाट उत्कृष्ट हुने दुई उपविजेताले पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।
नेपाली टोलीमा गोलरक्षक अञ्जना रानामगर, उषा नाथ र रविता राई छन् भने डिफेन्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान र पूजा रानामगर रहेका छन् ।
त्यसैगरी मिडफिल्डरमा सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुवानी कुस्वार, सिर्जनासिंह ठकुरी तथा सम्झना लावती छन् । फरवार्डमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जिम्बा, सम्झाना शर्मा छन् ।
अखिल नेपाल फुटबल संघ महिला टोली