सञ्चारकर्मी तेजुको अवस्था अझै अज्ञात
डोटी । बाजुराको बडीमालिका मेलाबाट बेपत्ता भएका डोटीका सञ्चारकर्मी तेजबहादुर खड्का ‘तेजु’ हराएको दुई महिना हुन लाग्दासमेत उनको अवस्था अझै अज्ञात छ ।
गएको भदौ ९ गते बाजुरास्थित बूढीनन्दा मेलाबाट घर फर्किने क्रममा बेपत्ता भएका खड्काको अवस्थाबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन् ।
उनको खोजीका लागि सरकारी निकायको लापर्वाही देखिएको तथा खोजी र छानविनका लागि गठन भएको मिसन टोलीको समेत उदासिनता देखिएको आरोप डोटीका सञ्चारकर्मीको छ ।
नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्षसमेत रहेका खड्काको खोजी कार्यमा ध्यान दिन विभिन्न निकायलाई आग्रह गरिएको युनियनका जिल्ला अध्यक्ष प्रकाश बमले बताए।
प्रेस युनियनमा आबद्ध सञ्चारकर्मी खड्काको खोजीका लागि युनियका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको नेतृत्वममा केही महिना अघि मिसन टोली बनाइएको थियो ।
सो टोलीले धनगढी हुँदै घटनास्थल रहेको बाजुरा जिल्लासम्म जाने भने पनि त्यहाँ नपुगेको भन्दै डोटीका सञ्चारकर्मी निरास भएका हुन् । सरकारले ‘तेजु’ को खोजी कार्यमा खासै चाँसो नदेखाएको प्रेस युनियनको आरोप छ ।
सञ्चारकर्मी खड्का बेपत्ता भएपछि नेपाली सेनाको हेलिकोप्टर र सुरक्षा निकायको टोली पठाएर छानविनको प्रयास गरिएको थियो । टोलीले स्थलगत अध्ययन गरे पनि हालसम्म उनको अवस्था वारे ज्ञात हुन सकेको छैन् ।
बाजुरा सञ्चारकर्मी तेजु