मनोरञ्जन

पाँच सय नेपाली कलाकारसँग अमेरिकाको ‘ग्रिनकार्ड’

पाँच सय नेपाली कलाकारसँग अमेरिकाको ‘ग्रिनकार्ड’

काठमाडौं । नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको संख्या पाँचसय नाघेको छ । 

 

 

 

उचित वातावरण भएमा आफूहरु स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरु उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार संघ’ का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास अनुमतिपत्र लिइसकेका छन् । 

 

 

संघले यसबारे संकलित विवरणसहितको पुस्तक प्रकाशनको तयारी पनि गरेको छ । तीमध्ये कतिपयले अन्य कामसहित कलाकारितालाई पनि निरन्तरता दिएका छन् भने कतिपय पेशाबाट पलायन भएका छन् । 

 

 

 

‘सेलिब्रेटी’ कलाकारलाई त्यहाँको सरकारले ‘एक्स्ट्रा अर्डिनरी आर्टिष्ट’ को मान्यतासमेत दिने भएकाले उनीहरु उतै सम्मानित भएको अनुभव गर्छन् । 

 

 

 

 

कतिपय कलाकार नेपाल आउने जाने गर्छन् भने कतिपयले नेपाली नागरिकता त्यागिसकेका छन् । स्थायी आवास अनुमतिपत्र हुनेले अमेरिकामा स्थायी बसोबास र काम गर्न पाउनेछन् भने तीन वर्षपछि त्यहाँको नागरिकता लिने प्रक्रियामा सहभागी हुन पाउनेछन् । 

 

 

 

 

दसैंका अवसरमा अमेरिका पुगेका वरिष्ठ संगीतकार टीका भण्डारी र कलाकारबीच न्यूयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा सामूहिक टीका तथा शुभकामना साङ्गीतिक साँझ कार्यक्रममा अध्यक्ष बुढामगरले सो जानकारी दिएका हुन् । 

 

 

 

 

कलाकार प्रेमराजा महत, सरोज खनाल, जीवन लुइँटेल, रमित ढुंगाना, रामप्रसाद खनाल, महेन्द्र बुढाथोकी, नारायण पुरी, कृष्ण चापागाईं, अरुणिमा लम्साल, रञ्जना शर्मा, साहित्यकार ज्ञानेन्द्र गदाललगायत अमेरिकामै बस्दै आएका छन् । 

 

 

 

अघिल्लो दशकमा केही समय उता बसेर नायिका करिष्मा मानन्धर स्वदेश फर्किएकी थिइन् । भने, नायक भुवन केसीले अमेरिकाको ‘ग्रिनकार्ड’ लिन अस्वीकार गरेका थिए। अमेरिकाको स्थायी नागरिकता लिएका कलाकार तथा सञ्चारकर्मी रवी लामिछानेले हालै अमेरिकाको नागरिकता त्यागेको घोषणा गरेका थिए । रासस

अमेरिकाको ग्रिनकार्ड नेपाली कलाकार

विशेष