यू–१५ च्याम्पियनसिपः माल्दिभ्समाथि नेपालको शानदार जित
काठमाडौं । साफ यू-१५ च्याम्पियनसिप फुटबलमा नेपालले बिहीबार विजयी शुरुआत गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा बिहीबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
काठमाडौंमा सुरु चौथो संस्करणको साफ अन्डर १५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।
पहिलो हाफमा दुई गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । नेपालले शुरुआती अग्रता खेलको २८औं मिनेटमा जान लिम्बूको पेनाल्टी गोलबाट लिएको थियो ।
राकेश विश्वकर्मालाई डिबक्सभित्र माल्दिभ्सका खेलाडीले फउल गरेपछि प्राप्त पेनाल्टीमा लिम्बूले गोल गरेका थिए ।
त्यस्तै खेलको ३५औं मिनेटमा नमस थापा मगरले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६३औं मिनेटमा शशांक बोहोरा र ६८औं मिनेटमा दिपेश राईले गोल गरे । जितसँगै नेपालले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।
यसअघि बिहीबारै भएको पहिलो खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले सहभागिता छ । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।
साफ यू–१५ च्याम्पियनसिप फुटबल नेपालको शानदार जित