विचार

दशैँको पहिलो सुख : उ रनपाओ 

दशैँको पहिलो सुख : उ रनपाओ 

प्रवेश तथा प्रसङ्ग
वि.सं. २०७५ को दशैँ छुट्टीमा पुस्तक पढ्ने योजनाअनुसार मैले पहिलो सामग्रीका रूपमा उ रनपाओ नामको पुस्तकलाई रोजेँ र दशैँ लाग्दा नलाग्दै सिध्याएँ । चाँडै सक्नुको कारण थियो मकालु प्रकाशनका प्रबन्ध निर्देशक श्री बासुदेव ढकालजीको हुट्हुटी । 

 

दशैँको छनक नेपाली घरआँगनसम्म नआउँदै मित्र ढकालजीले नेपालीमा अनुवाद गरी प्रकाशन गरेका विभिन्न पाँच जना सुप्रसिद्ध चिनियाँ उद्यमीका जीवनगाथासम्बन्धी पुस्तकहरू समीक्षार्थ दिइएकोमा मैले तिनको सङ्क्षिप्त विश्लेषण अाफू  स्तम्भकार रहेको ‘मिलाप मासिक’को दशैँ अङ्कमा पस्किसकेको थिएँ । त्यसै बेला श्री ढकालजीले प्रस्तुत कृति दशैँताका मलाई उपलब्ध गराउने पूर्वशर्तअनुसार मैले यो सामग्री पनि पाइसकेको थिएँ । प्रस्तुत पुस्तकको सङ्क्षिप्त टिप्पणी यहाँ प्रस्तुत गरेको छु ।

 

विषयवस्तु 

१ सय ८४ पृष्ठको प्रस्तुत कृति चिनियाँ लेखक ख्ह चियानमिङद्वारा लिखित त्यस्तो सटिक प्रस्तुती हो, जसलाई लेखकले चिनको एउटा सुदुर गाउँलाई आफ्नो विषयवस्तु बनाए जो झन्डै ९० वर्षअघि चिनको चियाङ्सु प्रान्तको सोही गाउँमा जन्मिएका एक होनहार युवकले संसारकै विकसित एवम् समृद्ध गाउँमा रूपान्तर गरिदिएको कुरा सविस्तार वर्णन गरेका छन् । त्यस्ता महापराक्रमी व्यक्ति थिए– उक्त प्रान्तअन्तर्गत ख्वासी गाउँमा सन् १९२८ मा जन्मिएका किसान उ रनपाओ । यिनै ‘उ रनपाओ’ को व्यक्तित्व एवम् कृतित्व केन्द्रित सामग्री हो यो पुस्तक, जो विभिन्न स–साना चार अध्यायमा बुनिएको तर सटिक सन्देश दिन संसारभर सफल भएर अब नेपाली पाठकसम्मको पहुँचमा पनि प्रवेश गरेको अवस्था छ । 

कृतज्ञता ज्ञापन 
यस्तो पे्ररणापद उत्कृष्ट कृति पढ्ने अपूर्व अवसर जुराएकोमा म प्रबन्ध निर्देशक बासुजीप्रति कृतज्ञ छु । त्यसैले निजप्रति मनैदेखिको आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछु । 

 

पुस्तकको सङ्क्षिप्त सार 
यो सङ्क्षिप्त सामग्री एक ७८ वर्षे स्वप्नशिल समर्पित एवम् सिद्धान्तनिष्ट एवम् तेजश्वी कम्युनिष्ट कार्यकर्ताको त्यस्तो समर्पणभावको कथा हो, जसले चिनको एउटा अति नै विकट, अभावग्रस्त, पछौटे र अविकसित सानो गाउँलाई संसारकै त्यस्तो नमुना गाउँमा रूपान्तर गरिदिए जो हाल सम्पूर्ण चिनको ‘सिङ्गापुर’ को नामबाट विख्यात भई संसारभरिका मानिसको ध्यान आकृष्ट गर्न सफल बन्यो । बाँकी सबै पुस्तकका ‘अन्य’ पक्ष हुन् जो आफैँमा  महत्वपूर्ण भएर पनि यसै केन्द्रबिन्दु वरिपरि घुम्दछन्, जस्तै :

 
१.    निःश्वार्थभाव के हो र असल कम्युनिष्ट कार्यकर्ता कस्तो हुनुपर्छ ?

२.    मानिसले लोभी र लालची हुनबाट कसरी बच्ने ?

३.    कुकर्म र भ्रष्ट आचरणको दुष्परिणाम के सम्म हुनसक्छ ? 

४.    एउटा कम्युनिष्ट सिद्धान्तअनुसारको आदर्श भित्रैबाट एउटा सुदूर गाउँलाई कसरी विश्वकै सुखी एवम् समृद्ध ठाउँ बनाउन सकिन्छ भन्ने नमुना ।

५.    माओको सापेक्षित समालोचना अनि चीनका निर्माताको प्रशंसा । 

६.    कम्युनिष्ट हृदय र मस्तिष्कको गहिराई, 

७.    सहकर्मीबीच सौहार्दपूर्ण व्यवहार कसरी गर्ने र सामूहिक अर्थतन्त्रको निर्माण कसरी सम्भव हुन्छ ?

८.    ‘चिनियाँ विशेषतासहितको साम्यवाद’ के हो ? 

९.    माओको ‘सांस्कृतिक क्रान्ति’ को शिकार हुनबाट ख्वासी गाउँ कसरी बच्यो ? 

१०.    समझदार किसान के हो र कृषिबाट समाज एवम् राष्ट्रको समृद्धि कसरी सम्भव हुन्छ ? 

११.    उ कै उतारचढावपूर्ण जीवनको कहानी भन्न सकिने, तर एक सफल उद्यमीको शल्यक्रिया जसले एउटा मात्र हार्डवेयर कारखाना र एउटा सानो मिललाई विस्तार गर्दै ठूला ठूला उद्योग सञ्चालन गरी ख्वासी गाउँलाई कसरी संसारकै समृद्ध गाउँ बनाए भन्ने रो विवरण । 

१२.    ‘तीन थोक नगर्ने’ सिद्धान्तका सूत्रधार, ती सिद्धान्त थिए–

क)    सबैभन्दा धेरै तलब नलिने, 
ख)    भव्यतम् घरमा नबस्ने
ग)    बोनस र कमिसन नलिने । 

 

त्यतिमात्र होइन उ ले ख्वासी गाउँलाई संसारकै भव्य गाउँ बनाएर पनि स्वयम् भने सन् १९७० मा बनेको त्यही पुरानो घरमा रत्तिए जो नत भव्य थियो न विशाल । वास्तवमा हालका राष्ट्रपति सी को त्यो भनाई पनि यहाँनिर स्मरण हुन्छ उनी भन्छन्– ‘निजी सम्पत्तिको लोभी कहिल्यै कम्युनिष्ट हुन सक्दैन ।’

 

१३.    यसरी नै पुस्तकमा माक्र्सवाद–लेनिनवाद, माओ विचारधारा र समाजवाद–सामन्तवादको प्रसङ्ग आए पनि ‘तङ स्पाओ फिङ् सिद्धान्त’ लाई नै बढी जोड दिइएको छ । मुख्यतः ख्वासी गाउँको समृद्धि र त्यहाँका जनताको सुखी–समृद्धशाली जीवनको सुनिश्चिता नै त्यसको मर्म रहेको पक्षलाई भने कदापि कमजोर हुन दिइएन । यो नै पुस्तकको मूल मर्म पनि देखियो ।

 

१४.    कम्युनिष्ट सिद्धान्त, पार्टी र समाजवादको प्रसङ्ग पनि त्यत्तिकै प्रबल रूपमा प्रस्तुत भएको छ ।

 

१५.    ८० वर्षे उ को जीवनको अनुभवको निचोड यो सानो पुस्तक हो, जसले ख्वासी गाउँलाई संसारकै भव्य एवम् वैभवशाली गाउँ बनाइदिए, जसलाई लेखकले पृथ्वीको वैकुण्ठवास भनेकाछन् ।

 

१६.    गरिबीको बहुरूपी चरित्र सम्बन्धमा एउटा विचित्रको प्रस्तुति यस पुस्तकमा गीति शैलीमा छ । त्यो पढ्दा र गरिबीका रूपहरू हेर्दा मननीय मात्र लाग्दैन भित्री हृदयको द्वार पनि खुल्दछ– आखिर मानिस किन गरिब हुन्छ र त्यसलाई कसरी वर्गीकरण गर्न सकिन्छ ? अनि गरिबीबाट कसरी माथि उठ्न सकिन्छ ? भन्ने कुरा प्रष्ट्याइएको छ । 

उपसंहार
 

निष्कर्ष के हो भने साम्यवाद गरिबी र दुःखकष्टको पर्याय होइन त्यसको विपरीत मान्छे मात्रलाई सम्पन्न, वैभवशाली एवम् सुखी बनाउने अश्त्र हो । तर अाफूमात्र सम्पन्न र वैभवशाली हुने चाहिँ किमार्थ साम्यवाद होइन जो विश्वभरिको कम्युनिष्ट सत्ताले अभ्यासमा ल्याउँदा नेपाल पनि त्यसको कुरूप एवम् भद्दा दृष्टान्त भन्दा टाढा रहन सकेन । सिँगो विश्वमा त्यो सत्ता बदनाम बनी आज प्रायः प्रतिरक्षाको स्थितिमा पुग्यो, तर चिनमा यो बच्यो † किन ? त्यसको उत्तर हो यो सानो कृति ।

 

यी दृष्टान्त हेर्दा हाम्रो दुई तिहाइ बहुमतको वामपन्थी कम्युनिष्ट सरकार र तिनका लाल बुझक्कडहरूलाई कस्तो लाग्छ कुन्नी, तर तिनका अन्धभक्त हनुमानहरूमा चाहिँ मेरो सविनय अनुरोध के छ भने यो पुस्तकलगायत हालै अनुवाद गरी मकालु प्रकाशन गृहले प्रकाशन गरेका छ वटा कृति र गतवर्ष मेरा मित्र दिवाकर शर्माजीको संयोजनमा चीन अध्ययन केन्द्रले प्रकाशनमा ल्याएको मेरा वा तङ सियाओफिङ (My Father Deng Xiaoping) अवश्यमेव पढुन ।

 

चिनमा देङ स्पाओ फिङ मात्र थिएनन् उनको मर्म र कर्मलाई व्यवहारमा उतार्ने र अनुशरण गर्ने ‘उ रनपाओ’ हरू पनि थिए त्यहाँ । त्यहाँ पनि हाम्रैजस्तो शहर मात्र थिएनन् । गाउँ पनि त्यत्तिकै थिए, तर भिन्नता के भने हाम्राले चाहिँ शहरीकरणका लागि स्वयम्लाई शहरमा ल्याएर थुपारे, गाउँ उजाड बनाए अनि त्यहाँ चाहिँ गाउँलाई नै अत्याधुनिक शहर बनाए । अवश्य हो, त्यहाँ देङ थिए यहाँ पटक्कै थिएनन् र छैनन् । त्यसैको समष्टि हो यो पुस्तक किनभने त्यसरी नै त्यहाँ उ रनपाओ थिए यहाँ थिएनन् । अस्तु †

 

२०७५, फुलपाती    
कार्की निवास–३८
घट्टेकुलो–२९, कामनपा ।

नोट : प्रस्तुत पुस्तक २०७५ कात्तिक १३ गते दिनको ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा विमोचन हुँदैछ ।  
 

विशेष