मुख्य समाचार

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि


सान होजे । युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुर्याएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ । 

 

 

एक समारोहमा उक्त उपाधि स्वीकार गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दिइएको उपाधि नेपालको शान्ति प्रक्रियाको सफलता तथा शान्ति चाहने नेपाली जनताको सम्मान भएको बताए । 

 

 

उनले भने, ‘यो उपाधि शान्तिका दूत बुद्ध जन्मेको मुलुकका जनतालाई दिइएको हो, विश्वभर समझदारी, सहिष्णुता तथा शान्तिका लागि यस विश्वविद्यालयले गरेको काम प्रशंसनीय छ ।’ 

 

 

प्रधानमन्त्री ओलीले विश्वका नेताहरू जुनसुकै मुलुकबाट आए पनि संयुक्त राष्ट्र सङ्घमा शान्तिपूर्ण पृथ्वी, साझेदारीयुक्त प्रगति तथा मानवताको प्रगतिका लागि एकबद्ध भएको बताए । 

 

 

राष्ट्र सङ्घको महासभाको ७३ औं महाधिवेशनमा आतङ्कवादको बढ्दो घटना, बढ्दो तापक्रम र समुद्रको बढ्दो सतह, निरन्तर गृहयुद्ध तथा क्षेत्रीयताका घटना र निरन्तर खाद्य असुरक्षाका विषय उठाइएको जानकारी दिए । 

 

 

प्रधानमन्त्री ओलीले सो विश्वविद्यालयसँग मानवले भोगेका द्विविधा समाधान गर्ने उपाय हुने भएकाले त्यसको समाधान खोज्नुपर्नेमा जोड दिँदै शान्ति र सहिष्णुताको संस्कृति सिर्जना गर्ने, त्यसको खोजलाई अभिप्रेरित गर्ने र त्यसबाट विश्वले हाल भोगेका द्विविधाको समाधान दिने बताए । 

 

 

उनले मानव मस्तिष्कको उपयोग पूर्ण रूपमा भइनसकेको र लाखौं व्यक्ति पछाडि परेको उल्लेख गर्दै उनीहरूलाई शिक्षा दिलाएर प्रगति गराउन सकिने भएकाले त्यसैमा लगानी गर्नुपर्नेमा जोड दिए । 

 

 

शान्ति विश्वविद्यालय बडापत्र (युपिस चार्टर) शान्ति विश्वविद्यालय स्थापना गर्न तयार भएको अन्तर्राष्ट्रिय सन्धि हो । नेपाल यस विश्वविद्यालयको बडापत्रमा हस्ताक्षर गर्ने ४१ औं मुलुक बनेको छ । उक्त विश्वविद्यालय राष्ट्र संघको महासभाको सन् १९८० को डिसेम्बर ५ को निर्णय ३५÷५५ बाट स्थापना भएको हो ।

 

 

 सो विश्वविद्यालयलाई ‘शान्तिसम्बन्धी सबै विषयको अन्तरविषयगत अध्ययनमार्फत मानव तथा समाजको विकासका लागि शिक्षण, अनुसन्धान, स्नातकोत्तर तालीममा संलग्न हुने र आधारभूत ज्ञान प्रवाह गर्ने’ कार्यादेश तोकिएको छ । 

 

 

सो विश्वविद्यालयमा अध्ययनका लागि निवेदन दिने हस्ताक्षरकर्ता मुलुकका विद्यार्थीले शिक्षण खर्चमा स्वतः ३० प्रतिशत छुट पाउने व्यवस्था छ । 

 

 

प्रधानमन्त्री ओली म‌गलबार सेन्ट्रल भ्यालीस्थित विश्वविद्यालयको राद्रिगो काराजो क्याम्पसमा आइपुग्दा उहाँलाई रेक्टर फ्रान्सिस्को रोजास आराभेनाले स्वागत गर्नुभएको थियो ।

 

 

रेक्टर आराभेनाले नेपाल र कोस्टारिकाबीच रहेका भिन्नता र समानताबारे बताउँदै शान्ति विश्वविद्यालयका क्रियाकलापका विषयमा जानकारी दिए । 
 

प्रधानमन्त्री केपी शर्मा ओली मानार्थ विद्यावारिधि युनिभर्सिटी फर पिस

विशेष