पीपीएलः सोमपालको बुटवलसँग पारसको टिम ७० रनले पराजित
काठमाडौं । शुक्रबारदेखि सुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत शनिबारको पहिलो खेलमा सोमपाल कामी कप्तान रहेको बुटवल ब्लास्टर्स विजयी भएको छ ।
बुटवलले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई ७० रनले हराउँदै विजयी भएको हो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बुटवलले २० ओभरमा ५ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।
१३६ रनको सामान्य लक्ष्य पछ्याएको चितवन १६ ओभर ५ बलमा ६५ रनमा अलआउट भयो । सोमपाल कामीले चार, ललित भण्डारीले दुई, रोहन मुस्तफाले एक विकेट झारेका थिए । पारसले टिमका लागि सर्वाधिक १० रन बनाउन सके ।
सन्नी पटेलले ९ र करण केसीले ७ रन बटुले । स्मिथ पटेलले दुई र हरिशंकर साह १ रन जोडे । सोनु तामाङ, अनिलकुमार साह र आरिफ शेख शून्य रनमा आउट भए ।
बुटवलको पनि खराब शुरुआत थियो । विदेशी खेलाडी चिराग सुरीले १ रन बनाए भने रोहन मुस्तफाले खाता नै खोल्न सकेनन् । भिम सार्की दुई रनमा आउट भए ।
चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गरे । सागर ४६ रनमा पेभेलियन फर्किए भने राना ४८ रनमा आउट भए । यसैगरी शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।
पोखरा प्रिमियर लिग