स्वास्थ्य

धूमपान त्याग्न सक्नु भएन ? त्यसो भए लागू गर्नुस् यी तरिका

धूमपान त्याग्न सक्नु भएन ? त्यसो भए लागू गर्नुस् यी तरिका

काठमाडौं । धूमपान स्वाथ्यका लागि अत्यन्तै हानिकारक छ । यो कुरा सबैलाई अवगत पनि छ । तर, हानिकारक छ भन्ने थाहा भए पनि धूमपान गर्ने युवाको संख्या बढ्दो छ ।

 

 

कतिपय साथीभाइको लहैलहैमा परेर धूम्रपानको लतमा फसेका छन् भने कतिपय तनाव कम गर्ने बहानामा धूमपान गरिरहेका हुन्छन् । लत बसिसकेपछि कतिपयलाई छुटाउनै गाह्रो हुन्छ । त्यसो भए कसरी छाड्ने त धूमपान ?

 

 

यी हुन् केही महत्वपूर्ण टिप्सः

धूमपान त्याग्न सबैभन्दा पहिले मानसिक रूपले तयार हुनुपर्छ । आत्मबल बढाउन सक्नुभयो भने मात्र धूम्रपानको लत छुटाउन सहज हुन्छ ।

 

धूमपान छाडेपछि मानसिक तथा शारीरिक स्फूर्तिका लागि दैनिक बिहान-बेलुका प्राणायाम र ध्यान गर्दा राम्रो हुन्छ । यसले तपाईंलाई व्यस्त पनि बनाउँछ ।

 

धूमपान त्याग्दै गरेको मानिसले धूम्रपान गर्ने मानिसबाट टाढै रहनुपर्छ । धूमपान छोडेको २४ देखि ४८ घन्टाभित्र अत्यधिक छटपटी र औडाहा हुन्छ । यस्तो वेला रिस उठ्ने, टाउको दुख्ने, चक्कर लाग्ने, पेट र छाती पोल्ने, निद्रा नपर्ने, ध्यान केन्द्रित नहुनेजस्ता समस्या हुन्छन् । यस्तो अवस्थामा अत्यधिक पानीको सेवन गर्न आवश्यक हुन्छ ।

 

 

धूमपान छाडेपछि निरन्तर पानी पिउने बानी विकास गर्नुपर्छ । छटपटी लाग्नेबित्तिकै पानी पिउनुपर्छ । साथमा रसदार फलफूल खाने बानीले फाइदा गर्छ । ल्वाङ, सुकमेल वा दालचिनी मुखमा राखेर खेलाइराख्दा पनि धूमपानको लत कम हुन्छ ।

 

 

धेरै प्रयास गर्दा पनि छटपटी घटेन, पागलजस्तै हुने स्थिति आयो भने कम निकोटिनयुक्त नाक वा मुखको स्प्रेजस्ता सामग्री प्रयोग गर्न सकिन्छ । तर, चिकित्सकको सल्लाह भने आवश्यक हुन्छ ।

 

 

धूमपानबाट हुने हानि र यो छाडेपछि प्राप्त हुने फाइदाबारे बढीभन्दा बढी जानकारी हासिल गर्नुपर्छ । पहिला धूमपान
त्यागेपछि फाइदा हुन्छ भन्ने कुरामा विश्वस्त हुनुपर्छ ।

-प्रकाश रेग्मी, मुटुरोग विशेषज्ञ

धूमपान

विशेष