पोखरा प्रिमियर लिगः पोखरालाई हराउँदै बुटवल शीर्ष स्थानमा
काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा आइतबारको दोस्रो खेलमा पनि बुटवल ब्लास्टर जित निकाल्न सफल भएको छ ।
उसले पोखरा पल्टनलाई ३३ हराउँदै लगातार दोस्रो जित निकाल्न सफल भएको हो । आइतबारको जितसँगै बुटवल अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
आइतबार पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवलले पोखरालाई १ सय ५१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनाएको हो ।
पोखराका लागि आशिफ शेखले २०, रभि इन्दर सिंहले ११, कप्तान शरद भेषावकरले १९ रन बनाए । यस्तै, रसिद खानले १०, मोहम्मद नाभेदले ११ रन बनाए । बुटवलको कसिलो बलिङका सामु पोखरा टिक्न सकेन ।
बुटवलका लागि सोमपाल कामी, रोहन मुस्तफा, ललित भण्डारी र विपिन खत्रीले दुईदुई साथै सागर पुनले एक विकेट लिए । पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ५० रन बनाएको थियो ।
बुटवलका ओपनर चिराग सुरी र सागर पुन चल्न नसके पनि रोहन मुस्तफा र भीम सार्कीले उत्कृष्ट पारी खेलेका थिए । रोहनले ३५ बलमा ४५ रन बनाए भने भीमले ४६ बलमा ५४ रन बनाए । सिद्धान्त लोहनीले ११ बलमा १३ रन साथै सोमपाल कामीले ८ बलमा २२ रन बनाए ।
पोखराका मोहम्मद नाभेदले अन्तिम ओभरमा नै तीन विकेट लिए । साथै महबुब आलम, ललित राजबंशी, शरद भेषावकरले एकएक विकेट लिए ।
आइतबार नै भएको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको थियो ।
पोखरा प्रिमियर लिग बुटवल ब्लास्टर पोखरा पल्टन