महिला च्याम्पियनसिपः नेपालसँग पाकिस्तान ९–० ले पराजित
काठमाडौं । जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट प्रतियोगिता अन्तर्गतको तेस्रो खेलमा नेपालले शानदार जित निकालेको छ ।
नेपालले आइतबार भएको खेलमा पाकिस्तानलाई ९–० को भारी अन्तरले हरायो । यो नितसंगै नेपालले एएफसी यू–१९ च्याम्पियनसिप खेल्ने सम्भावना जिवितै बनाएको छ ।
थाइल्याण्डको चोनबुरी रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउनका लागि निशा थोकरले ह्याट्रिक गरिन् ।
पाकिस्तानविरुद्ध गोलको वर्षा गरेको नेपालले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । दोस्रो मिनेटमा मन्जली कुमारीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् ।
३२औं मिनेटमा सम्झना लावती र ३७ औं मिनेटमा अलिशा जिम्बाले गोल गरेपछि नेपालले पहिलो हाफमा तीन गोलको अग्रता लिएको थियो ।
पहिलो हाफमा तीन गोल गरेको नेपालले दोस्रो हाफमा ६ गोल थप्यो । ५४औं मिनेटमा पुजा रानाले गोल गरेपछि नेपालले ४–० को अग्रता लिएको थियो । त्यसपछि निशा थोकरले ह्याट्रिक गरिन् । ५७औं मिनेटमा पाएको फ्रिकिकलाई निशाले सोझै गोलमा परिणत गरिन् ।
७४औं मिनेटमा पाएको पेनाल्टीलाई निशाले गोलमा परिणत गरेपछि नेपालले ६–० को अग्रता लियो । ८५औं मिनेटमा नेपालले अर्को पेनाल्टी पायो । त्यसलाई पनि निशाले गोलमा परिणत गर्दै ब्यक्तिगत ह्याट्रिक पूरा गरिन् भने नेपालले ८–० को अग्रता लियो ।
८९औं मिनेटमा सरु लिम्बुले गोल गर्दा नेपालले ९–० को जित निकाल्यो । ६ वटा समूहबाट उत्कृष्ट दुई उपविजेता एएफसी यू–१९ महिला च्याम्पियनसिपमा प्रवेश गर्नेछन् । नेपालको दोस्रो चरणको यात्रा सबै समूहको छनोट प्रतियोगिता सकिएपछिमात्र टुंगो लाग्नेछ ।
एएफसी यू–१९ महिला च्याम्पियनसिप