पोखरा प्रिमियर लिगः धनगढीको पहिलो जित, सन्दीपको टिमको लगातार दोस्रो हार
पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) मा धनगढी ब्लुजले पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा धनगढीले विराटनगरलाई ७८ रनले हरायो ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा १८२ रनमा अलआउट भयो । टिमको स्कोर ८ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले १३ रनमा दोस्रो विकेट खेर फाल्यो ।
उसका दुबै ओपनर सन्दिप सुनार ९ तथा डेन लरेन्स दुई रनमा आउट भए । त्यसको लगत्तै दिलिप नाथपनि ८ रनमा आउट भएपछि धनगढीले ३८ रनमा तेस्रो विकेट गुमायो ।
त्यसपछि दिपेन्द्र ऐरी र विदेशी खेलाडी पिटर ट्रेगोले चौथो विकेटका लागि ६० रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हाले । तर दिपेन्द्र २९ रनमा आउट भएपछि धनगढीले ९८ रनमा चौथो विकेट गुमायो । तर त्यसपछि सस्तैमा दुई विकेट गुमाउदा धनगढीले एक सय २३ रनमा ६ विकेट गुमायो ।
सन्दिप जोरा १२ रनमा आउट भए भने मन्जित श्रेष्ठ एक रनमा पेभेलियन फर्किए । धनगढीका लागि पिटरले ५३ रनको योगदान गरे । अन्तिममा सौरभ खनालले विस्फोटक ४१ रन बनाए । उनले १२ बलमा दुई चौका र ५ छक्का प्रहार गरे । बलिङ तर्फ जितेन्द्र मुखियाले चार विकेट लिए ।
जवाफमा विराटनगर १६ ओभर चार बलमा एक सय चार रनमा अलआउट भयो । खराव सुरुवात गरेको विराटनगरले १३ रन हँदा पहिलो विकेट गुमायो । ओपनर प्रदिप ऐरी मात्र चार रनमा पेभेलियन फर्किए ।
त्यसपछि टिमको स्कोर ३९ रन हुँदा अर्का ओपनर सुनिल धमला २१ रनमा पेभेलियन फर्किए । विराटनगरको स्कोर ४६ रन हुदा राजु रिजाल मात्र ५ रनमा बाहिरीए ।
एकपछि अर्को विकेट गुमाएको बिराटनगरका पाकिस्तानी खेलाडी मुहम्मद जेइद आलम १९ रनमा आउट भए भने एन्र्डु सुबिक्सनपनि १८ रनमा पभेलियन फर्किए ।
किशोर महतो नौ, राजेश पुलामीमगर दुई, पुष्प थापा दुई रनमा आउट भए । बलिङ तर्फ डेन लरेन्सले तीन तथा दिपेन्द्र ऐरीले दुई विकेट लिए । यस्तै जितेन्द्र मुखीया नौ रनमा आउट भए ।
पोखरा प्रिमियर लिग