कभर स्टोरी भिडियो

शहरी क्षेत्रमा ‘क्याजुअल सेक्स’ बिस्तारै सामान्य बन्दै जान्छ (भिडियोसहित)

शहरी क्षेत्रमा ‘क्याजुअल सेक्स’ बिस्तारै सामान्य बन्दै जान्छ (भिडियोसहित)

काठमाडौं । ‘मि टु मुभ्मेन्ट’ ले जताजतै चर्चा कमाएसँगै एउटा टिप्पणी र जिज्ञासा उठ्न थालेको छ । ‘कतै यो अभियान नकारात्मक दिशामा जाने पो हो कि ? केही निर्दोश मानिसलाई फसाउने बद्नियत पो हुने हो कि ?’ हुन त हरेक कुराका सकारात्मक र नकारात्मक पाटाहरू हुन्छन् । तर, समाज परिवर्तनशील छ । भोलिबारे यो हुन्छ भनेर किटानी गरिहाल्ने सामथ्र्य सायदै कसैमा छ । यस अभियानले आउँदा दिनमा कस्तो मोड लिन सक्ला भन्नेबारे नेपालआजले समाजशास्त्री निर्मला ढकालसँग कुराकानी गरेको छ । 

 

केही समयअघि एक अन्तर्वार्तामा उनले ‘मि टु मुभमेन्टले हाइ प्रोफाइल सेक्स स्कायाण्डल पनि बाहिरिन्छन्’ भनेर भनेको टिप्पणी भाइरल भयो । यसबारे विस्तृत रूपमा जान्न खोज्दा उनले भनिन्, ‘हाइप्रोफाइल वर्गमा आफ्नो सामाजिक, मान, मर्यादा र प्रतिष्ठाका कारण धेरै कुराहरू भित्रभित्रै दबाइन्छन् । त्यहाँ दुव्र्यवहार भइरहेको हुन्छ तर प्रतिष्ठाका लागि हामी बोल्दैनौं । समयको अन्तरालसँगै कानून बनेपछि हिम्मत आउँछ र पारिवारिक सहायता पनि मिल्छ । सानो भन्दा सानो दुर्व्यवहारको गतिविधीले नै बिस्तारै बलात्कारको रूप लिन सक्छ । त्यसकारण पनि यो जराबाटै रोक्नुपर्छ भन्ने चेतना अहिले सबैमा विकास हुँदै गएको कारण हाइ प्रोफाइल सेक्स स्क्याण्डल पनि बाहिर आउँछ भनेर भनेकी हुँ ।’


‘मि टु मुभमेन्ट’ ले समाजमा नकारात्मक असर पार्छ भन्ने पक्षमा उनी छ्रैनन् । परिवर्तन भन्दा पनि यसले नयाँ पुस्तालाई यौन दुर्व्यवहार भनेको के हो भन्ने कुराबारे खुलस्त पारिदिने र समयमै सचेत गराउने अपेक्षा उनको छ । ‘हरेक अभियानको सकारात्मक र नकारात्मक पाटा हुन्छन् । कसैले कोही प्रति रिस उठ्यो भनेर  यो अभियानले अरूको चरित्र हत्या गर्न पनि सक्छ । यसबारे चनाखो हुनुपर्छ । तर हाम्रो जस्तो समाजमा महिलाले यति बोल्न सक्नुलाई सकारात्मक रुपमा लिनुपर्छ’, उनले सुनाइन् ।

 

यो अभियानले अहिलेको परिपेक्षमा खासै केही फरक नपरे पनि भोलिको पुस्तामा यसले महत्वपूर्ण भूमिका राख्न सक्ने उनको बुझाइ छ ।  

 

कति महिलाले १५ वर्ष अघिका घटनाबारे पनि अहिले आवाज उठाइरहेका छन् । कतिले यसलाई त्यही समय आवाज नउठाएर अहिले कसैको चरित्र हत्या गर्न खोजिएको पनि भनेका छन् । तर यसबारे सहमत छैनन् ढकाल । भन्छिन्, ‘हिजो धेरै बन्धनले बोल्न सकिएन, तर अहिले आएर बोलियो भने अहिले यस्ता घटना खपेर बसेकाहरुलाई राम्रो सन्देश जाने हुँदा यसलाई नराम्रो रुपमा लिनु हुँदैन । यो स्वतन्त्रतासँग पनि जोडिएको छ ।’

 

कतिपय सन्दर्भमा आफूमा दुव्र्यवहार भइरहेको हुँदा पनि त्यसलाई ठम्याउन सकिदैंन । त्यसकारण यौन शिक्षा घरबाटै सिकाउनुपर्नेमा उनले जोड दिइन् । उनले थपिन्, ‘परिवारका सदस्यमा कसैलाई त्यस्ता घटना भयो परिवारमा सेयर गर्न सक्नुपर्छ । सेयर गर्दा बच्चाहरूले पनि यस्ता कुराहरू दुव्र्यवहार हुन् भनेर थाहा पाउँछन् । चाहे छोरा होस् या छोरी ।’ 

 

अपराधले महिला र पुरूष भन्दैन । नेपाली समाजमा पुरुषमा हुने यौन दुव्र्यवहारका कुरा बाहिर नआउनुलाई पनि लैंगिक असामानता मान्न सकिने उनको धारणा छ । ‘पुरूषलाई हुने यौन दुर्व्यवहार लाई सजिलै स्वीकार गर्ने स्टेजमा नेपाली समाज पुगेकै छैन । कसैले हरेको, मेसेज गरेको, शारीरिक सम्बन्धमा मन नपर्दा पनि प्रस्ताव गर्नुलाई यौन दुर्व्यवहार  मान्न सकिन्छ । यो जसलाई पनि हुन सक्छ । त्यसकारण पुरूषलाई पनि यौन दुर्व्यवहार  हुन्छ भनेर पत्याउनुपर्छ’,उनले भनिन् ।  

 

अहिलेको सन्दर्भमा बलात्कारको घटना बढेको होइन, मानिसहरूमा सचेतना बढेर घटना बाहिरिएको उनको तर्क छ । ‘समाजमा धेरै परिवर्त आइसक्यो । जसकारण पनि यस्ता घटनाका आवाज बाहिरिएका छन् । तर ७ वर्षीय बालिका र ६० वर्षीया वृद्धाको बलात्कार के कारण्ले र कसरी हुन्छ भन्नेबारे राम्रो अध्ययन भएको छैन’, उनले भनिन् ।  

 

नेपालको परिवेशमा बलात्कारीलाई समातेर जेलमा कोच्ने मात्र काम भएको उनको तर्क छ । ‘कुनै पनि कुरालाई निर्मुल पार्न त्यसको गहन अध्ययन गनुपर्छ । बल्ल त्यसलाई कसरी निर्मुल गर्ने भन्नेतिर जान सकिन्छ । तर अहिले त बलात्कारी समातिनु नै ठूलो कुरा भएको छ’, उनले भनिन् । 

 

बलात्कारको घटना कम हुनको लागि नेपाली समाज यौनको मामीलामा खुल्ला हुनुपर्नेबारे धेरै विज्ञले भन्दै आएका छन् । ‘क्याजुअल सेक्स’ पनि खुल्ला समाजको उपज हो । हामीले यसबारे ढकालसँग पनि जान्न खोज्यौं । उनले भनिन्, ‘बलात्कार र क्याजुअल सेक्स भिन्न भिन्नै चिज हुन् । यी चिजलाई एक आपसमा जोडेर हेर्नु मिल्दैन र क्याजुअल सेक्सले बलात्कार रोक्छ भन्ने होइन ।’ सरकारले पोर्न साइट ब्यान गरेको उदाहरण दिँदैँ उनले भनिन्, ‘पोर्न ब्यान गर्नु मेरो लागि आफैंमा हाँस्यास्पद चिज हो । क्याजुअल सेक्सले बलात्कार नियन्त्रण गर्छ भन्नु पनि त्यस्तै हो ।’ 

 

यसको मतलव क्याजुअल सेक्स नराम्रो भन्नु उनको धारणा होइन । उनको अनुसार यसले कसैको परिवार भाड्न या समाज भाड्ने काम गर्छ भन्नु गलत हो । ‘खुल्ला समाजमा वैधानिक सम्बधनबिना शारिरिक सम्बन्ध राख्नुलाई क्याजुअल सेक्स भनिन्छ । यसले घरपरिवार बिगार्छ जस्तो मलाई लाग्दैन ।’ उनले थपिन्, ‘धार्मिक र संस्कृतिक कोणबाट हेर्ने हो भने केही फरक पर्ला । तर व्यक्तिगत विचार र उसको शारीरिक आवश्यक्ताको कोणबाट हेर्दा भने यो सहि हुन्छ । शहरी क्षेत्रमा विस्तारै यो कल्चर सामान्य लाग्दै जान सक्छ ।’

मि टु मुभ्मेन्ट निर्मला ढकाल समाजशास्त्री

विशेष