दीपिका—रणवीरको रिसेप्सन र प्रियंका—निकको विवाह एकैदिन
मुम्बई । नोभेम्बर र डिसेम्बरको महिना बलिउडका दुई ठूलो विवाहको साक्षी हुनेछ । रणवीर र दीपिका १५ नोभेम्बरमा विवाह बन्धनमा बाँधिदै छन् भने प्रियंका चोपडा र निक जोनस १ डिसेम्बरमा विवाह गर्दै छन् । दुवै पार्टी जुध्नेवाला छ किनभने रणवीर र दीपिका त्यही दिन अर्थात् १ डिसेम्बरमा ग्राण्ड रिसेप्सन दिँदै छन् ।
स्रोतले जनाएअनुसार, ट्वीटरमार्फत विवाहको घोषणा गर्नेवित्तिकै रणवीर र दीपिकाले बलिउडका साथीहरूलाई रिसेप्सनको आमन्त्रणा दिने काम सुरु गरिसकेका छन् । उनीहरुको रिसेप्सन १ डिसेम्बरमा ग्राण्ड हायतमा हुुने भएको छ ।
उता प्रियंकाले पनि आफ्नो विवाहको घोषणा गरिसकेकी छन् । तर, उनले भने एडभान्समा बलिउडमा कसैलाई पनि निमन्त्रणा पठाइसकेकी छैनन् । हालै उनले न्यू योर्कमा ‘ब्राइडल सावर’ मनाएका तस्विरहरू भने बाहिरिएका थिए । प्रियंंका र निकले जोधपुरको उम्मेद भवनमा रोयल वेडिङ गर्नेछन् ।
एजेन्सी