कभर स्टोरी भिडियो

ओशोका केही स्वामीहरु महिलाहरुलाई ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

काठमाडौं । स्वामी देव सुन्दर ओशो सन्यासी हुनुहुन्छ । उहाँले १४ वर्ष नेपालकै ओशो तपोवनमा स्वामीआनन्द अरुणसँग पनि सत्संग गर्नुभयो । देव सुन्दरको मतमा पछिल्लो समय आनन्द अरुण तिलस्मी कुराहरु गर्ने, आफ्नै गुरुभाईको अपमान गर्ने  र असान्दर्भिक विषयवस्तुहरुलाई उचाल्न उद्यत हुनु भएको छ ।  स्वामीको मतमा यस्तै विषयहरुका कारण अहिले स्वामी आनन्द अरुणको आलोचना हुन थालेको छ । आनन्द अरुणको आलोचना गर्नेमा सम्भवत स्वामी देव सुन्दर अंग्रपंक्तिमै आउनु हुन्छ । कुनै समय एकआपसमा अत्यन्त निकट देव सुन्दर र आनन्द अरुणबीच अहिले किन यस्तो दूरी ? यो प्रश्नको जवाफ हामीले स्वामी देवसुन्दरसँग खोजेका छौं । प्रस्तुत छ उहाँले राख्नु भएको धारणाको सार उहाँकै शैलीमाः 

 

‘स्वामी आनन्द अरुणका विषयमा मैले आलोचना गर्नुका केही ठोस कारणहरु छन् । सुरुवात भने एक भारतीय ओशो सन्यासीबाट शुरु भएको हो । उहाँको नाम हो अशोक भारती । अशोक भारती र स्वामी आनन्द अरुण गुरुभाई पनि हुनुहुन्छ । उहाँले नेपाल आउने चाहना गर्नुभयो । मैले स्वामी आनन्द अरुणसँग अुनमति मागेँ । उहाँले हुन्छ भन्नु भयो । उहाँकै निम्तोमा अशोक भारती नेपाल आउनु भयो, डेढ महिना बस्नु भयो । पोखरा, लुुम्बिनी, बागलुङलगायत स्थानमा गएर प्रवचन दिनु भयो ।

 

 उहाँको व्यक्तित्वसँग नेपालका धेरै सन्यासीहरु प्रभावित भए  । सम्भवतः स्वामी आनन्द अरुणसँग भन्दा अशोक भारतीसँग नेपालका सन्यासीहरु बढी प्रभावित हुन थाले । आफूतिरको आकर्षण अशोक भारतीतर्फ बहकिने देखेपछि स्वामी आनन्द अरुण अशोक भारतीमाथि खनिन थाल्नु भयो । उहाँविरुद्ध अनेक नकारात्मक टिप्पणी गर्नु भयो । दुई वटा प्रवचनका भिडियो स्वामी आनन्द अरुणकै फेसबुक पेजमा अपलोड भए । त्यसमध्य एउटा डिलिट गर्नुभयो । तर त्यसरी मेटाइएको भिडियो पनि हामीसँग भने छ । 
 

 

स्वामी आनन्द अरुणले अशोक भारतीमाथि आक्षेप लगाउने क्रममा नक्कली बुद्धत्वको कुरा उठाउनु भयो  । अशोक भारतीयले बुद्धत्व प्राप्त गर्नुभएको छैन । अशोक भारतीको ‘फेक इनलाइटमेन्ट’ हो भनेर दावी गरिदिनु भयो । अशोक भारती नेपाल आउनु भनेको ‘गुरु (ओशो)को काम बिगार्नु मात्रै हो’ भनेर स्वामी आनन्द अरुणले भन्न थाल्नु भयो । 
 

 

ओशो तपोवनमा पुग्ने दुई खालका मानिसहरु हुन्छन् । यदि महिलाहरुको प्रशंग जोडने हो भने पनि दुई खाले हुन्छन् । एक खाले सामान्य प्रकृतिका हुन्छन् । अर्का खाले हाइफाई हुन्छन् । उनीहरु हातमा बुके बोकेर स्वामीजी भेट्न जान्छन् । उनीहरुलाई सहज पहुँच पनि दिइन्छ । 
 

 

स्वामी आनन्द अरुण स्वामीले पूर्वजन्ममा आफू बिहारको राजा भएको दावी गर्नुभएको छ । पटक पटक अन्तर्वार्तामा राजा महेन्द्रसँग कुरा भएको, सपनामा ओशोले निर्देशन दिएको हुनाले अशोक भारतीलाई गाली गरेको भन्ने गर्नु हुन्छ । ओशोको नामको दुरुपयोग हुन थालेको अनुभूति भएको छ । पूर्वजन्ममा तिमी यस्तो थियो, तिमी उस्तो थियौं भन्न थालिएको छ । अशोक भारती  र स्वामी आनन्द अरुण दुवैले यस्ता कुरा गर्नु भएको छ । महिलाहरुलाई ‘तिमी पूर्वजन्मको मेरो प्रेमीका हौं’ पनि भनिएको छ । यो शोषणको एक तरीका हो भन्ने लाग्छ । केही महिलाहरुलाई ‘तिमी मेरो पूर्वजन्मको प्रेमीका हौं’ भनेर मोबाइलमा म्यासेज पठाइएको छ । तर यो विषय कानुनी हिसाबले अगाडि नआएसम्म म कसैलाई तोकेर दोषारोपण गर्न सक्दिनँ । 
कसैलाई पनि धन र यौनको आरोप लाग्यो भने समाजले सोझै पत्याउछ । 
 

महिलाहरु किन पर्छन् लम्पसार ? 
 

पुरुषहरु मात्रै होइन, विशेष अवस्थामा महिलाहरु पनि पुरुषप्रति आशक्त हुन्छन् । नेम,फेमको आकर्षणले महिलाहरु वा माँजीहरु नतमस्तक भएको पाइन्छ । यसमा अरुण स्वामी वा अशोक भारतीको मात्रै दोष दिन्न । महिलाहरुले पनि बुझ्नु पर्छ कि आफू के प्रयोजनका लागि आएको हो ? ओशोको सिद्धान्तमा समर्पित हुने हो कुनै सन्यासीको पाउमा होइन । यो कुरा महिलाहरुले पनि बुझ्नु पर्छ । ओशोका सात सय पुस्तक छन् । ओशोले लेखेको र बोलेको कुरा बुझ्नु पर्छ । अरुण स्वामी ७५ वर्ष र अशोक स्वामी ७० वर्षको हुनुभयो । उहाँहरुले २०–२२ का महिलाहरुलाई गरेको प्रेम सेक्ससँग जोडेर हेरिन्छ भने त्यो पनि ठीक भएन । उहाँहरुले सेक्सुअल ह्यारेसमेन्ट गर्नुभयो भन्ने कुनै कानुनी आधार भने छैन । सामान्य टिप्पणी मात्रै भएका विषयहरु हुन् । 
 

 

मैले स्वामी आनन्द अरुणको आलोचना गर्न थालेपछि मलाई पनि धम्कीहरु धेरै आए । प्रहरी, वकिल, मानवअधिकारवादीहरुले समेत धम्क्याए ।  म पोखरामा हुँदा मेरो परिवारका मानिसहरु आत्तिएर मलाई भेट्न पोखरा नै पुगे । ओशोको नाममा स्वामी आनन्द अरुणले आफूलाई हाइलाइट गर्न थाल्नु भएको छ । २८ –३० वर्ष भइसक्यो, तर ओशो तपोवनको साधारण सभा अहिलेसम्म एकै व्यक्तिबाट भइरहेको छ । उहाँले आश्रम सबैको हो तर त्यसलाई आफ्नो निजी जस्तो बनाउनु भएको छ । आश्रममा लगानी सबैको छ तर उहाँले एकलौटी जस्तो बनाउनु भएको छ। आश्रममा क्षमतावान गुरुभाई कोही आए भने उनीहरुलाई धपाउने काम उहाँले गर्नुहुन्छ । अध्यात्म वा दर्शनलाई व्यापारसँग पनि जोडिएको छ । तपोवनका कोठाहरु बिक्री नै हुन्छन् । मानिसहरुले किनेर बस्ने पनि गरेका छन् । तपोवनको कन्सेप्ट नै फेरिएको छ । ओशो तपोवन अब अरुण तपोवनमा रुपान्तरण भइसकेको छ ।’ 

====

अन्तरवार्तामा व्यक्त धारणा स्वामी देव सुन्दरका निजी  हुन् ।  उहाँको विचारसँग नेपालआजको धारणा सम्बन्धित छैन ।– सम्पादक । 

 

र याे पनि, 

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो
► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’
► भ्रम सिर्जना गरियोः ओशो तपोवन
► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 
► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ
► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)
► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)
► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

स्वामी देव सुन्दर ओशो सन्यासी स्वामी आनन्द अरुण

विशेष