कभर स्टोरी अन्तरवार्ता भिडियो

‘आइजिपी खनालले राजीनामा दिनैपर्छ’ (भिडियोसहित)

‘आइजिपी खनालले राजीनामा दिनैपर्छ’ (भिडियोसहित)

काठमाडौं । अनेरास्ववियुका अध्यक्ष रञ्जित तामाङले निर्मला पन्त हत्या प्रकरणमा प्रहरी प्रशासन सही ढंगले अनुसन्धान गर्न चुकेका कारण प्रहरी संगठनको प्रमुखको हैसियतले महानिरीक्षक सर्वेन्द्रनाथ खनाल (आइजिपी) ले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । 


सत्तारूढ दलका सांसद एवं विद्यार्थी नेता रञ्जित तामाङ स्वंयले बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेटेर एक ज्ञापनपत्र बुझाउँदै महानिरीक्षक खनालको राजीनामा माग गरेपछि एकाएक तात्तिएको राजनीतिक घटनाक्रमका सम्बन्धमा नेपाल आजसँग शुक्रबार विशेष कुराकानी गर्दै तामाङले  कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको ७० दिन भइसक्दा पनि अपराधी पत्ता लाग्न नसकेको, हत्याको प्रारम्भिक अनुसन्धानमा मै प्रहरी प्रशासन चुकेको कुरा स्वयं प्रहरी प्रवक्ताले स्वीकारेको सन्दर्भमा र निर्मला पन्तको परिवारले न्याय पाउन भन्ने उद्देश्यले आइजिपी खनालले राजीनामा दिनुपर्ने स्पष्ट पारे । 


उनले आइजिपी खनालसँग आफ्नो कुनै व्यक्तिगत रिसइवी नभएको स्पष्ट पार्दै निर्मला पन्तले चाँडोभन्दा चाँडो न्याय पाउन भन्ने मुलुककै आवाजलाई ध्यानमा राखेर खनालको राजीनामाको प्रसंग आएको उल्लेख गरे । विद्यार्थी नेता तामाङले भने, ‘निर्मला पन्त प्रकरणमा प्रहरी प्रशासनले यदि राम्रो काम गरेको भए प्रहरीको खुलेर प्रशंसा मात्र होइन, ५० केजीको फूलको माला लगाएर रथयात्रा गर्ने थिएँ । तर अवस्था त्यसको विपरीत देखिन गएकाले नैतिकताको आधारमा आइजिपी खनालको राजीनामाको कुरा आएको हो ।’


नेकपाका कार्यकर्ता सत्यमान लामालाई रिहा गर्न सांसद नवीना लामा र तपाईं स्वयंले आइजिपी खनाललाई दबाब दिएको र खनाले लामालाई रिहा इन्कार गरेपछि खनालविरुद्ध तपाईंहरू लागेको हो भन्छन् भन्ने प्रश्नको उत्तरमा तामाङले भने, ‘तपाईंले उल्लेख गर्नुभएको व्यक्तिलाई सर्वप्रथमतः म चिन्दिनँ । नचिनेको व्यक्तिलाई रिहा गर्नु भनेको वास्तविकतासँग मिल्दैन । अरू महत्वपूर्ण कुरा भनेको गृहमन्त्रीसमक्ष हामीले ज्ञापनपत्र बुझाउँदा सो ज्ञापनपत्रको ४ नं. बुँदामा यदि जो कोही पनि जघन्य अपराधमा संलग्न छन् भने त्यसमाथि कानुनबमोजिम कारबाही गर्नुपर्दछ भन्ने उल्लेख गरेका छौँ । त्यसकारण निर्मला पन्त हत्या प्रकरण अर्कैतिर मोडिने प्रयास हुनसक्छ । हामी विद्यार्थी वर्ग पीडित पन्त परिवारले न्याय पाउन भन्ने पक्षमा छौँ । त्यसैको परिप्रेक्ष्यमा राजीनामाको कुरा आएको हो ।’


निर्मला पन्त हत्या प्रकरणमा अपराधी पत्ता लगाउन नसकेकोमा गृहमन्त्रीको राजीनामा माग्नुपर्ने होइन र ? भन्ने प्रश्नमा विद्यार्थी नेता तामाङले अपराधको प्रारम्भिक अनुसन्धान गर्ने जिम्मा पाएको प्रहरी संगठन असफल भएको देखिएकाले सर्वप्रथम आइजिपी खनालले राजीनामा दिनुपर्ने देखिन्छ । अर्कोकुरा निर्मला पन्त हत्या प्रकरणमा त्यो परिवारले न्याय नपाउन्जेल नैतिकताको जगबाट कोही पनि बाहिर जान नसक्ने बताए । 


तामाङले आइजिपी खनालको राजीनामाको माग प्रहरी संगठनको मनोबल गिराउने उद्देश्यले नगरिएको र राजीनामाको प्रसंगले सरकारलाई अस्थिर र विग्रह कुनै पनि हानिनोक्सानी नगर्ने तर्क गर्दै अन्यायमा परेकालाई न्याय दिलाउने कार्य भएमा पार्टी संगठन बलियो बन्ने दाबी गरे । 


उनले आफूहरूले उठाएका जायज आवाजको पार्टीपंक्तिबाट अवश्य पनि सुनुवाइ हुने आशा व्यक्त गरे ।

 

एक फरक प्रसंगमा नेता तामाङले नेकपा पार्टी एकीकरण भइसकेपछि दुई पार्टीको विद्यार्थी भ्रातृ संगठन पनि एक हुने सैद्धान्तिक सहमति भएबमोजिम त्यसैअनुरूप बाँकी प्रक्रिया भइरहेको र एकता प्रक्रिया निकट भविष्यमा टुंगिने जानकारी दिए ।

रञ्जित तामाङ अनेरास्ववियु आइजिपी खनाल

विशेष