‘भिआइपी जुवा अखडा’मा प्रहरीको अचानक छापा, चार तल्लाबाट हाम्फाल्दा दुई जुवाडेको ज्यान गयो
काठमाडौं । भिआइपी जुवाडेहरुको अखडामा प्रहरीले छापा मार्दा भाग्न खोज्ने दुईको लडेर मृत्यु भएको छ । काठमाडौंको मुलपानीस्थित एक जुवा अखडामा प्रहरीले छापा मार्दा चार तलाबाट हाम्फाल्ने दुई जुवाडेको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा सरोज घले र सोमलाल तामाङ छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको कमाण्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले जुवा खालमा छापा मारेको थियो ।
जुवाको खालबाट प्रहरीले एक महिलासहित २३ जनालाई पक्राउ गरेका छ ।
मुलपानी स्थित तामाङ थरका व्यक्तिको घरमा लामो समयदेखी ‘भिआईपी जुवा अखडा’ चलिरहेको सूचना पाएपछि राति १० बजेतिर सादा पोशाकका प्रहरी त्यहाँ पुग्दा जुवाडेहरु बाहिर च्यानल गेटमा ताला लगाएर जुवा खेलिरहेका थिए । प्रहरीले ताला फुटाएर जुवाखाल नियन्त्रणमा लिने क्रममा ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको छ ।
प्रहरी आएको थाहा पाएपछि अँध्यारोमा अचानक हाम्फालेका सरोज घले र सोमलाल तामाङको शुक्रवार राति नै ललितपुरको ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा मृत्यु भएको हो ।
बाहिरबाट च्यानल गेटमा ताला लगाएर सञ्चालन हुने उक्त जुवाघरमा मदिरा सहितको खानेकुरा सित्तैमा सर्भ गरेर जुवा खेलाईंदै आएको बताईएको छ ।