माधव नेपालको गुटगत भेलाको औचित्य छैन
–पूर्ण ओली
काठमाडौं । लामो समयसम्म पार्टी हाँकेर देशको प्रधानमन्त्री भइसकेका नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री विदेश भएको अवसर पारेर गुटगत भेला गरी अभिव्यक्ति दिनु र सदनमा गएर सरकारविरुद्ध आगो ओकल्नु आफूभित्रको कुण्ठा र आवेगलाई नियन्त्रण गर्न नसक्नु देखिन्छ । लामो समय पार्टीको नेतृत्व लिएको व्यक्तिले आफ्नो कार्यकालमा कुनै उल्लेखनीय कार्य गर्न नसकेपनि पार्टी नै टुक्रिने गरी भारतको हितमा महाकाली सन्धि गराउन सफल हुनुभएको थियो भने नेपालको जलस्रोतमा कोशेढुंगा सावित हुने अरुण–३ नबनाउन विश्वबैंकलाई पत्र लेखी नेपालमा लामो समयसम्म लोडसेडिङ हुन बाध्य पारिएको थियो । त्यसपछिका दिनहरूमा नेपालका धेरै नदीहरू भारतले ओगटेर राख्न सफल भएको छ ।
माधव नेपालबाट भएका यी त्रुटी सच्याउने अवसर अब आएको थियो । आफ्नो दलको सरकारबाट भएका कमी कमजोरीलाई सुधार गर्दै जनताका हितमा हुने महत्वपूर्ण योजना अघि सार्ने प्रस्ताव गर्न सक्नुहुन्थ्यो । अहिले विरोधीहरूले सानातिना विषयमा बारम्बार विरोध गरेर सरकारलाई घुँडा टेकाउने प्रयास गरिरहँदा उहाँ मौनदर्शक मात्र भएर बस्नुमात्र होइन विरोधी दलका नेताभन्दा एक कदम अघि बढेर दलको नेतृत्वको तेजोवध गर्दा पार्टीका कार्यकर्तामात्र होइन सर्वसाधारण जनतासमेत निराश भएका छन् ।
अहिलेको कम्युनिस्ट सरकारले जनतालाई धेरै ठूला आश्वासन बाँडेको छ र जनता पनि अहिलेसम्म यही सरकारसँग नै आशावादी छन् । तर यो सरकारले ठूला आश्वासन र आयोजना पस्केपनि जनताका आधारभूत कुराहरूमा ध्यान पु¥याउन सकेको देखिँदैन् । जसको कारणबाट यस सरकारप्रति जनता नकरात्मक बन्दैछन् । यसतर्फ माधव नेपालजस्ता वरिष्ठ नेताको ध्यान जान आवश्यक छ ।
यदि माधव नेपालले सरकारलाई दबाब नै दिने हो भने प्रत्येक नेपालीको घरघरमा शुद्ध खानेपानी पु¥याउने प्रण गर्न लगाउनुहोस् जसले गर्दा दूरदराजका नेपालीको स्वास्थ्यमा सुधार पुग्नेछ किनकि अधिकांश नेपाली पानीको कारणबाट विरामी हुने गर्छन् । सोहीअनुरूप खेतबारीमा कुलो नहरद्वारा सिँचाइको व्यवस्था गरी पर्याप्त पानीको उपलब्ध गराउन दबाब दिनुहोस् जसबाट कृषियोग्य जमिनमा प्रशस्त फसल उत्पादन गर्न सकिन्छ अनि देश खाद्यान्नमा आत्मनिर्भर हुनेछ । प्रशस्त पानी भएपछि व्यावसायिक कृषि खेती, माछापाालन, तरकारी र फलफूल खेतीदेखि लिएर आधुनिक तरिकाबाट पशुपालन गर्न युवाहरू अघि बढ्नेछन् । यसबाट श्रम गर्न विदेश जाने युवाहरूका लागि स्वदेशमा रोजगारीका अवसर सिर्जना हुनेछन् । भ्रष्टाचार रोक्नबिना इलेक्ट्रोनिक टेन्डर ठेक्कापट्टा गर्न नदिने, कमसल र समयमा काम नगर्ने ठेकेदार र इन्जिनियरलाई कडा दण्डसजाय गर्न र ट्रेड युनियनको नाममा काम नगर्ने र भ्रष्टहरूलाई कारबाही गर्न सरकारलाई दबाब दिनेजस्ता कार्यमा लाग्नुहोस् ।
यस्ता कार्यहरूमा यदि माधव नेपालले दबाब दिनसके सरकारलाई पनि जनताको हितमा कार्य गर्न दबाब बढ्ने छ र भविष्यमा उहाँलाई पनि सरकारको नेतृत्व मिल्न सक्छ । यस्तैगरेर सुस्ता कालापानी र विभिन्न स्थानमा भारतद्वारा मिचिएका सिमानालाई सही स्थानमा कायम गर्न भारतलाई दबाब दिने कार्यमा सरकारलाई दबाब दिन सक्नुहोस् । यसबाट पनि आफ्ना पुराना गल्ती सुधार्ने अवसर मिल्नेछ ।
आफू केन्द्रमा बसेर बारम्बार विदेश शयर गर्नेदेखि सबै सुविधा उपभोग गर्दै गरिब जनताका समस्यालाई बेवास्ता गर्दै आफ्ना नजिकका आसेपासेलाई फलाना ठाउँमा नियुक्ति दिनलाई या मन्त्री या राजदूत बनाउन दबाब दिनलाई अनावश्यक गुटगत भेला गरेर दललाई र सरकारलाई कमजोर मात्र पार्न खोज्ने हो भने जनता निराश मात्र हुनेछन् । यसबाट आउने परिणाम सरकारलगायत माधव नेपालका लागि पनि अत्यन्त प्रत्युत्पादक हुनेछ । बेलैमा चेतना होस् ।