टी-२० विश्व कपः नेपाल १४० रनले विजयी, शिर्ष स्थानमा उक्लियो
काठमाडौं । मलेसियामा जारी आइसिसी टी-२० विश्व कप क्रिकेट प्रतियोगिताको एसिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रन बनायो ।
एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट गुमाएँदै १८ रन बनायो । वर्षाका कारण खेल रोकिएपछि डिएल नियमका आधारमा नेपाललाई विजयी घोषणा गरिएको हो ।
नेपालका लागि करन केसीले अविजित ४०, शरद भेषावकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ र विनोद भण्डारीले १५ रन बनाए ।
थाइल्याण्डलाई न्यून योगफलमा रोक्ने क्रममा सन्दीप लामिछानेले पाँच विकेट लिए । उनले तीन ओभरमा एक मेडन राख्दै आठ रन खर्चे ।
खेलका म्यान अफ द म्याच करण केसीले एक दशमलव पाँच ओभरमा दुई रन खर्चेर तीन विकेट लिए । ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल तीन खेलमा विजयी हुँदै ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।