पत्रकारको न्यूनतम परिश्रमिक वृद्धि, कार्तिकदेखि लागू
काठमाडौं । सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अाइतबारको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार÷कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो ।
आगामी कार्तिक १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि गरिएको बैठकपछि सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिए । श्रमजीवी पत्रकारले हाल न्यूनतम १९ हजार ५ सय पारिश्रमिक पाउदैं आएका थिए ।
मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थाको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई तीन दिने स्पष्टिकरण सोधिएको र संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिनुभएको राजिनामा बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बताए ।
सात सदस्यीय कार्यदल गठन
अाइतबारको मन्त्रिपरिषद् बैठकले उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखी सात सदस्यीय कार्यदल गठन गरेको छ ।
राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा, उखु उत्पादक संघ, चिनी उत्पादक सङ्घ, उपभोक्ता हित संरक्षणसम्बन्धि संस्था तथा उद्योग, अर्थ र कृषि मन्त्रालयका सह-सचिव रहेको कार्यदल गठन गरिएको सञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए ।
बैठकले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट ऊर्जा क्षेत्रमा लगानी बढाउने कार्यका लागि ऋण स्वरुप ११ अर्ब ६३ करोड स्वीकृत गर्नको लागि अर्थसचिवलाई अख्तियारी प्रदान गरेको छ ।
जापान सरकारले सिन्धुली सडक सुधारका लागि प्रदान गर्ने रु एक अर्ब चार करोड स्वीकृत गर्दै बैठकले नागरिक लगानी कोषको सञ्चालकमा डा. रामचन्द्र भट्टराईलाई मनोनयन गरी सञ्चालक समितिको अध्यक्ष तोक्ने निर्णय पनि गरेको छ ।
न्यूनतम परिश्रमिक श्रमजीवी पत्रकार