कुनै शंका छैन, विकास र सुशासनको लक्ष्य पूरा हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र सुशासनको मुख्य लक्ष्य पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पत्रकार शुभशंकर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’को विमोचनपछि प्रधानमन्त्री ओलीले जनताको विश्वास पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले देशका जनताले बहुमतसहित स्थिर सरकार बनाउन जनमत दिएकाले विश्वासघात नगर्ने प्रण गरे।
उनले लामो अभ्यासपछि आएको गणतन्त्र के होला भनेर नआत्तिन आग्रह गरे । पछिल्ला सात महीनामा सरकारले महत्वपूर्ण काम गरेको जिकिर गर्दै प्रधानमन्त्री ओलीले नयाँ अभ्यास भएकाले कतिपय अवस्थामा समस्या आएको बताए । आएका चुनौतीलाई समाधान गर्दै जाने भनाइ उनको थियो ।
लोकतन्त्र आउँदैमा सबै चिज पूरा नहुने भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई ठीक ढङ्गले परिचालन गर्नुपर्नेमा जोड दिए ।
अहिले देश सङ्लिएर राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल र सुखि नेपाली’लाई मूर्तता दिन अघि बढेको दाबी उनको छ ।
सो अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनदेखि नेपालको शान्ति प्रक्रियाका विषय आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तक नलेखेसम्म पूर्णरुपमा नबुझिने बताए।
अध्यक्ष दाहालले भने, ‘माओवादी आन्दोलनदेखि शान्ति प्रक्रिया र पार्टी एकताका विषयमा केपी जीले र मैले एउटा पुस्तक नलेखेसम्म पूर्ण हुँदैन ।’
हिजोको विचार संघर्ष, राजनीति सङ्घर्ष र पार्टी एकताको विषय पुस्तकले सुन्दर ढङ्गले समेटेको भन्दै दाहालले ठूलो अंश माओवादी र संघर्षसँग सम्बन्धित रहेको टिप्पणी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शान्ति प्रक्रियाको केही भाग टुङ्ग्याउन अझै बाँकी रहेको उल्लेख गरे ।
अहिले हामी कतै चुकिरहेका त छैनौं भन्ने आभाष भइरहेको भन्दै कोइरालाले दुई तिहाइको सरकारलेसमेत सुशासन दिन नसकेको जिकिर गरे ।