कभर स्टोरी भिडियो

छोराछोरी विदेशमा, बुढा बाबुआमा सशुल्क आश्रममा (भिडिओसहित)

छोराछोरी विदेशमा, बुढा बाबुआमा सशुल्क आश्रममा  (भिडिओसहित)

काठमाडौं । समाज परिवर्तनशील छ । समय, परिवेश र अवस्थासँगै समस्याका हरेक कुराहरूमा परिवर्तन आउनु स्वाभाविक हो । समाजमा मानिसहरू व्यस्त बन्दै गएका छन् । जसकारण घर परिवारलाई दिने समय साँघुरिएको छ । यसले विशेषगरी वृद्धवृद्धालाई समस्यामा पारेको छ । शारीरिक रूपमा अशक्त भएको समयमा परिवारबाट चाहेको सेवा र समय नपाउने गुनासो नेपाली समाजमा जायज भइसकेको छ । यस्तै समस्यालाई मध्यनजर गरेर व्यवसाय र सेवा दुवै एकैपटक प्रदान गर्ने विचारले हिजोआज ‘ओल्ड एज केयर सेन्टर’ खुल्न थालेका छन् । 
 

 

वृद्धवृद्धालाई सशुल्क सेवा दिनकै लागि राजेन्द्र नेगीले मन्डिखटारमा ‘सेकेन्ड इनिङ’ नामको ‘केयर सेन्टर’ को स्थापना गरेका छन् । 
 

 

सामान्य अवस्थामा बुझ्दा केयर सेन्टर भनेको वृद्धवृद्धाको लागि स्थापना भएको होस्टलजस्तै हो । जसलाई जेष्ठ नागरिक होस्टेल पनि भनिन्छ । प्रायः यस्ता होस्टलमा सम्पन्न परिवारका वृद्धवृद्धाहरू आउने गरेको नेगीले बताए । पैसा तिनुपर्ने भएकाले त्यहाँका सुविधा र सेवा फरक हुन्छन् । पैसाबाटै उनीहरूले सेवा किनेका हुन्छन् । 
 

 

कतिपयको परिवार व्यस्त, छोराछोरी विदेश र यहाँ भएपनि काममा जानुपर्ने हुन्छ, यस्तो अवस्थामा घरमा राखेको सामान्य व्यत्तिले स्याहार गर्न नसकेपछि उनीहरु केयर सेन्टर खोज्दै आएका हुन्छन । नेपाल सरकारले ६० वर्ष लागेकालाई जेष्ठ नागरिक भन्छ । नेगीले बताएअनुसार, उक्त होस्टलमा ६० वर्ष भन्दामाथिका वृद्धा नै राख्नुपर्र्छ भन्ने छैन । कतिपय सन्दर्भमा रोग लागेका व्यक्ति जसले परिवारबाट पर्याप्त समय पाउन सकिरहेका हुँदैनन् । उनीहरुले पनि त्यहाँ आएर सेवा लिन सक्छन् । 
 

 

कसैलाई निश्चित समयका लागि सेवाको खाँचो छ भनेपनि केयर सेन्टरमा जान सकिन्छ । बिरामीहरूको लागि हप्ताको एकपटक अनिवार्य रुपमा डाक्टर आउँछन् । 
 

 

विशेषगरि केयर सेन्टरमा आउने वृद्धवद्धा अल्जाइमर, पार्किन्सन, डाइबेटिज, प्यारालाइसिस, बुढ्यौलीजस्ता समस्या लिएर आउँछन । केयर सेन्टरमा उनीहरुलाई मनोरञ्जनात्मक क्रियाकलापजस्तै क्यारम बोर्ड, तास जस्ता खेल खेलाएर व्यस्त बनाउने गरेको नेगीले बताए । 
 

 

नेपालमा वृद्धवृद्धालाई केयर सेन्टरमा राख्ने संस्कृति  विकास भइसकेको छैन । यो क्रमलाई व्यवस्थित बनाउन ठाउँ ठाउँमा केयर सेन्टर खोलिनुपर्नेमा नेगीले जोड दिए । घरमै सेवा लिन चाहनेहरूलाई नेगीको संस्थाले त्यस्ता व्यक्तिको लागि केयर टेकर पनि परिचालन गर्ने गरेको छ । 
 

 

यो क्षेत्रमा पढेलेखेको मान्छे कम आउने उनले गुनासो पोखे । यसकासाथै जो कोही व्यक्तिमा पनि यो काम गर्ने सामथ्र्य हुन नसक्ने नेगीले बताए । मानिसको व्यस्त जीवनशैलीले ल्याएको उपज हो वृद्धवृदाहरूको ‘केयर सेन्टर’ । यो काममा युुवावर्ग पनि सक्रिय भएर लाग्दा झनै व्यवसायिक हुन्छ भन्दै उनले भने, ‘अब जेष्ठ नागरिकसँग युवा जोडिनुपर्र्छ ।’ 

राजेन्द्र नेगी ‘सेकेन्ड इनिङ’

विशेष