मुख्य समाचार

उपराष्ट्रपति र पोल्याण्डका राजदूतबीच शिष्टाचार भेट

उपराष्ट्रपति र पोल्याण्डका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि पोल्याण्डका गैरआवासीय राजदूत आदम बुराखोस्कीले शिष्टाचार भेट गरेका छन् ।

 

 


सोमबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुर भवन कान्तिपथमा उपराष्ट्रपतिसँग पोल्याण्डका गैरआवासीय राजदूतले शिष्टाचार भेट गरेका हुन् ।

 

 

भेटमा उपराष्ट्रपतिले पोल्याण्ड नेपालको असल मित्र राष्ट्र भएको बताए । उनले नेपाल र पोल्याण्डको सम्बन्धलाई जनस्तरसम्म विस्तार र प्रगाढ बनाउनुपर्नेमा जोड दिए । ‘पोल्याण्ड नेपालको असल मित्र राष्ट्र हो । 

 

 

नेपालले पोलिस सरकार र पोलिस जनतालाई महत्वपूर्ण सहयोगीको रुपमा लिंदै आएको छ’, भेटमा उपराष्ट्रपतिले भने, ‘दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्दछ ।’

 

 

उपराष्ट्रपतिले पोलिस जनता पर्वतारोहणमा धेरै रुची राख्ने आफूले थाहा पाएको उल्लेख गर्दै पर्वतारोहणका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको बताए । 

 

 

‘मैले सुनेको छु की, पोलिस जनता पर्वतारोहणमा धेरै रुची राख्छन्, नेपाल त्यसका लागि आकर्षक गन्तव्य हो,’ उनले भने, ‘पर्वतारोहणका लागि नेपाल आउँदा पोलिस जनताको रुची पूरा हुनेछ, नेपालको पर्यटन उद्योगमा सघाउ पनि पुग्ने छ । यसबाट दुई देशका जनता जनताबीचको सम्बन्ध पनि गहिरो हुन्छ ।’

 

 


उपराष्ट्रपतिले भेटमा भूकम्पको बेला गरेको सहयोग, नेपाली विद्यार्थीहरुलाई दिईरहेको छात्रवृत्तिका लागि पोल्याण्डलाई धन्यवाद दिए ।

 

 

उनले पोल्याण्डको श्रम बजारमा नेपाली कामदारहरु विभिन्न माध्यमबाट पुग्ने गरेको बताउँदै सरकारी प्रयासबाटै नेपाली श्रमशक्ति पोल्याण्ड लैजादा राम्रो हुने बताए।

 

 

उनले २०१८ को डिसेम्बरमा पोल्याण्डमा हुन लागेको वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सफलताको लागि शुभकामना दिए । उपराष्ट्रपतिले पोल्याण्डको १००औं स्वतन्त्रता दिवसको अवसरमा पोल्याण्ड सरकार, पोलिस जनतालाई बधाई दिए ।

 

 

उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि पोल्याण्डका गैरआवासी राजदूत आदम बुराखोस्कीले पोल्याण्ड र नेपालको सम्बन्ध समुमधुर रहेको बताए । उनले विभिन्न माध्यामबाट दुई देशको सम्बन्ध दिन प्रतिदिन प्रगाढ बन्दै आईरहेको बताए ।

 

 

भेटमा राजदूतले पर्वतारोहणका लागि पोल्याण्डका धेरै पर्यटक नेपाल आउने गरेको बताए । ‘पोल्याण्डका जनता पर्वतारोहणमा रुची राख्छन्, धेरै पोलिस पर्यटक नेपाल आउने गरेका छन्,’ उनले भन्नुभयो, ‘मेरो विश्वास छ, आगामी दिनमा अझै धेरै पोलिस पर्यटक नेपाल आउने छन् ।’ राजदूतले पोल्याण्डको अर्थन्त्र निकै माथि गईरहेको बताए । 

 

उपराष्ट्रपति नन्दबहादुर पुन पोल्याण्ड आदम बुराखोस्की

विशेष