कभर स्टोरी अन्तरवार्ता

‘निर्मलाको हत्यामा नेता र प्रहरीकै चलखेल छ ’ (भिडियोसहित)

महिलाहरुको अस्मिताप्रति नेताहरुले ठट्टा गर्छन् 

‘निर्मलाको हत्यामा नेता र प्रहरीकै चलखेल छ ’ (भिडियोसहित)

काठमाडौं । डा. अरुणा उप्रेती महिला स्वास्थ्य विशेषज्ञ र पोषणविद् सँगसँगै प्रखर महिला अधिकारवादी पनि हुन् । महिला अधिकार र महिला स्वास्थ्यको बारेमा सचेतनाका कार्यक्रम गर्ने क्रममा उनी नेपालको ७२ वटा जिल्ला पुगिसकेकी छन् । उप्रेतीका अनुभवलाई संगाल्न हामीले उनीसँग अहिलेकोे बढ्दो बलात्कारका घटना र महिला हिंसाबारे जान्न खोज्यौं । 

 

 

बलात्कारको घटना बढेको हो कि अहिले सञ्चारमाध्यममा समाचार बढी आएको हो भन्नेबारे ठम्याउन नै गाह्रो भएको छ डा. उप्रेतीलाई । आजभन्दा ६–७ वर्षअघि उनले अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरेर महिला हिंसासम्बन्धी अध्ययन गरेकी थिइन् । उक्त अध्ययनको क्रममा उनी नेपालको ५–६ वटा जिल्ला पुगिन् । त्यहाँका स्थानीय नेता, पत्रकार, प्रहरी, सामाजिक कार्यकर्तासँग अन्तरसंवाद गर्दा सबैबाट एउटै कुरा आयो, ८० प्रतिशत यौनशोषण र बलात्कारका घटनाहरू बाहिर नै नआउने । बुझ्दै जाँदा त्यस्ता घटनालाई भित्रभित्रै मिलाइने गरेको पाइयो । पैसा दिएर मिलापत्र गरिएको, प्रहरीले नै मिलापत्र गराइदिएको पनि घटना फेला परे । 

 

‘हाड नाता करणीमा भएको बलात्कारको घटना त झन् कत्ति कत्ति’, उनले सुनाइन् । 

 

सात वर्ष अघिका त्यो स्थिति अहिले पनि उप्रेतीको मस्तिष्कमा ताजै छन् । नेपालका दुर्गम ठाउँमा पुगेर त्यहाँको सामाजिक वस्तुस्थितिलाई गहिरिएर अध्ययन गरेका कारण पनि उनलाई अहिले  सञ्चारमाध्यममा आएका बलात्कारका समाचार नौलो नलागेको हो । त्यसकारण उनी भन्छिन्, ‘अहिले पहिलाजस्तो स्थिति छैन, पत्रपत्रिकाहरू बढी भएकाले पनि बाहिर आएको हो र हामीलाई धेरै भएको जस्तो लागेको हो । वास्तवमा घटनाको क्रम न त रोकिएको छ न त राज्य व्यवस्था नै मजबुत भएको छ ।’

 

 

बलात्कारजस्तो जघन्य अपराध एकैपटकमा नहुने बताउँछन् उनी । यो घटना हुनमा हाम्रो दैनिक जीवनमा हुने सानोभन्दा सानो घटनाको बिउ रोपिएको हुने उनको तर्क छ । यस विषयलाई लिएर आफ्नो धारणा प्रष्ट पार्दै उनले भनिन्, ‘उदाहरणका लागि, बाटोमा हिँड्दा, बसमा यात्रा गर्दा पनि महिलालाई दुव्र्यवहार भएको हुन्छ । तर कतिले यस्ता घटनालाई बेवास्ता गर्छन् । यस्तो अवस्थामा केही नबोल्दा पनि यस्ता साना घटनाले बलात्कारको रूप लिन सक्छन् ।’ 

 

 

केही दिनअघि मात्र गृहमन्त्रीले बलात्कारको प्रमुख कारण नै पुँजीवादी समाज भएको औंल्याए । यसबारेमा पूर्णरूपमा असहमति जनाउँदै उप्रेतीले कड्किँदै भनिन्, ‘यस्ता असंवेदनशील सरकारका मन्त्री, नेता, प्रहरी र राजनीतिज्ञले गर्दा बलात्कारीले सजाय नपाएको हो । मूर्खतापूर्ण र गैरजिम्मेवारीपूर्ण भाषण दिने यस्ता गृहमन्त्री छन् । पहिला पनि कांग्रेसका एकजना मन्त्रीले महिलाहरूले बलात्कारबाट बच्न खुर्सानीको धुलो पकेटमा राख्नुपर्छ र कोही बलात्कार गर्न आयो भने छर्किदिनुपर्छ, नङ लामोे लामो बनाउनुपर्छ भनेर मूर्खतापूर्ण कुरा गरे । यो भनेको उहाँहरूले महिलाको अस्मितासँग हाँसो गरेको हो । नेताहरूको गैरजिम्मेवारीपन पहिलादेखि थियो र अहिले पनि त्यस्तै छ ।’ 

 

 

बलात्कार महिलाको मात्र होइन, सिंगो समाजको मुद्दा हो भन्ने कुरामा विश्वास गर्छिन् उप्रेती । कुनै पनि एक व्यक्ति बलात्कृत हुँदा यसले पूरा समाजलाई नोक्सान पु¥याउँछ । त्यसकारण उप्रेतीका अनुसार बलात्कार सामाजिक मुद्दा हो । महिला मात्र होइन, पुरुष बलात्कृत भएका कैयौं घटनालाई नजिकबाट निलालेकी छन् उनले । आफ्ना ती अनुभव सुनाउँदै उनले भनिन्, ‘मैले अध्ययन गर्दा धेरै केटाहरूलाई होस्टलमा साथीले, शिक्षकले बलात्कार गरेको पाएकी छु । तर ती कुराहरू त्यत्ति बाहिर आउँदैनन् ।’ 

 

 

कोही बलात्कृत भइसकेपछि विशेषगरी महिलाले कस्तो लुगा लगाएकी थिइन्, उसको हाउभाउ कस्तो थियो भन्नेतिर लाग्नुभन्दा पनि अपराधी पक्राउ गर्नतिर लाग्नुपर्ने उनले बताइन् । विशेषगरी पत्रपत्रिकाबाट पनि पीडितलाई थप पीडा दिने काम भएको हुन्छ । पत्रपत्रिकालाई पनि पीडितको अनुहार, नाम, ठेगाना खुलाएर थप पीडा नदिन उनको सुझाव छ । 

 

 

केही जमात बलात्कारीलाई फाँसी दिनुपर्छ भन्दै पनि विरोधमा उत्रिएको देखिन्छ । तर, उप्रेती यो सजायसँग सहमत छैनन् । भन्छिन्, ‘यो त एकदम सजिलो सजाय हो । उनीहरू जिन्दगीभर तड्पिनुपर्छ ।’ यसबाहेक महिलाको आर्थिक, सामाजिक र कानुनी हैसियत राम्रो हुनुपर्ने र सँगसँगै यस्तो घटना भइसकेपछि प्रहरी र राजनीतिक व्यक्तिले दखल पुर्‍याउन नहुने उनको सुझाव छ । प्रहरी र राजनीतिज्ञ मिलेकै कारण अहिलेको कञ्चनपुर घटनामा दोषीलाई लुकाउने काम प्रस्ट भएको उनले उदाहरण दिइन् । 

 

 

बलात्कारको घटना न्यूनीकरण गर्नका लागि सरकारले पोर्न साइट ब्यान्ड गर्नु ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेजस्तै भएको उनको ठहर छ । उनले भनिन्, ‘यदि यस्तो हो भने, पोर्न बनाउने ठाउँमा दिनदिनै बलात्कार हुनुुपर्ने । महाभारत र रामायण मात्र बनाएर देखाउने हो भने सबैजना सदाचारी हुन्छन् भन्ने छ ? यस्तो किसिमको कदमले समस्या सामाधान गर्न सकिँदैन् । केही न केही गरेको छु भनेर देखाउन गरेको नौटंकी हो यो । म निर्मला हत्याकाण्डबारे स्पष्ट छु । यो राजनीतिक मुद्दा हो । यसलाई बचाउन राजनीतिज्ञ र प्रहरी नै मिलेका छन् ।’ 

निर्मला हत्याकाण्ड डा. अरुणा उप्रेती

विशेष