मेरो दशैंः ‘धेरै पटक खसी मार हानेँ, राँगो हान्ने आँट आएन’ (भिडियोसहित)
काठमाडौं । नेपालआजको नियमित स्तम्भ ‘स्ट्रेट फरवार्ड’का स्तम्भकार डा. प्रेमसिंह बस्न्यातसँग हामीले यसपटक दशैं सम्वाद गरेका छौं । दशैंका नाममा व्याप्त विकृति, जाँडरक्सी, जुवातासको संस्कृतिबारे चर्चा गरेका छौं । डा. बस्न्यातको बाल्यकाल र दशैंको प्रशंग पनि जोडेका छौं । प्रस्तुत छ उहाँको दशैं अनुभव उहाँकै शैलीमाः
‘म सैनिक पृष्ठभूमिको व्यक्ति हुँ । सेनामा दशैंको बेला बलि दिने चलन छ । तर पछिल्लो समय हामीलाई बलि दिन हुँदैन, खसीबोका काट्न हुँदैन भनेर अर्ति दिने विदेशीहरु हावी भएका छन् । यस्ता अर्ति दिनेहरु त्यस्ता ठाउँका पनि छन् जसले रंगशालामा साँढेलाई घोचीघोची मार्छन् । फुटबल खेलमा झै बसेर मजा लिन्छन् साँढे छटपटाएको । मलाई यस्ता पशुअधिकारकर्मी क्रिष्चियनका दलालहरुदेखि घृणा लाग्छ ।
बलि दिने हाम्रो प्रथा नै हो । चल्छ चल्नु पर्छ भन्ने लाग्छ । अधिकारकर्मीहरुले भेगन भएँ भनेर घोषणा गर्न सक्छन् ? उनीहरुले माछामासु खान्न भन्न सक्छन् ?
मैले करिब ४० वटा खसीबोका मार हानेको छु । राँगो ढाल्ने चाहिँ आँट आएन । अग्लो पनि हुने, मोटो गर्धन भएको, देख्दै डरलाग्दो भएका कारण मैले राँगो मार हानिनँ । माओवादी युद्धपछि चाहिँ मार हानेको छैन । घरमा पनि खसी काट्दैनौं । किनभने घरमा मासु खाने मान्छे नै भएनन् । काँटेको मान्छे हेर्न नसक्नेहरुका कारण पनि घरमा खसी काट्न छाडियो ।
हाम्रा पुर्खाहरु कतै युद्ध गर्न जानु पर्यो भने निशानमा पुजा गरेर जान्थे । रगत लगाएर मात्रै निस्किन्थे । विजयको कामना गर्ने एक चलन पनि मार हान्ने हो ।
हाम्रो तिर खसीबोका भन्दा च्यांग्रा काट्ने चलन थियो । हिमाल काटेर आएका भनेर च्यांग्रा खाने चलन थियो । खसीबोका भन्दा च्यांग्रा उच्च कोटीको मानिन्थ्यो । खसीबोकामा चाहिँ बोसो बिनाको मासु मन पराउँदैन थिए । कसको घरको खसीमा कति केजी बोसो थियो भन्ने कुराको ठूलो महत्व हुन्थ्यो । जति धेरै बोसो त्यति धेरै शानको कुरा हुन्थ्यो । अहिले आएर बोसोको कुरा सम्झिदा अनौठो लाग्छ ।
केटाकेटी हुँदा आशिर्वादको भन्दा दक्षिणाको महत्व हुन्थ्यो । हामीलाई बीचमा प्वाल भएका चार पैसाको डबल दिन्थे । धेरै अति नै धैरै दक्षिणा पाउनेले पाँच रुपैयाँ पाउथे । समय समयको कुरा हो यो ।
सेनामा हुँदा हामीले आफ्नै पैसाले किनेर ब्यारेक भित्रै मदिरा पिउन पाइन्थ्यो । त्यो बेला हामी त कोदोको रक्सी पिउँथ्यौं । कर्णेलहरुले भोड्का र रम पिउँथे । हामीेले त त्यस्ता कहाँ पाउनु ? हामी कोदोको लोकल रक्सी पिउथ्यौं । ’
डा. प्रेमसिंह बस्न्यात स्ट्रेट फरवार्ड