टी-२० विश्वकप छनोटः नेपालको लगातार चौंथो जित, भुटान ३३ रनमै अलआउट
काठमाडौं । मलेसियामा जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटमा नेपाल चौथो खेलमा पनि विजयी भएको छ ।
मंगलबार भएको खेलमा भुटानलाई एक सय १७ रनले पराजित गर्दै नेपाल चौंथो खेलमा पनि विजयी भएको हो ।
युकेएम ओभल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा चार विकेट गुमाउदै एक सय ५० रन बनायो । नेपालले ६ रन हुँदा पहिलो विकेट गुमायो ।
दोस्रो विकेटका लागि अनिल शाह र प्रदिप ऐरीबीच ६६ रनको साझेदारी हुँदा नेपालले खेलमा पकड बनायो । तर अनिल २७ रनमा आउट हुँदा नेपालले दोस्रो विकेट गुमायो ।
नेपालको स्कोर एक सय पाँच रन हुँदा तेस्रो विकेट झर्यो । आरिफ शेख १३ रनमा आउट हुन पुगे । आज प्रदिप ऐरीले अर्धशतक प्रहार गरे ।
उनले ६८ बलमा ७५ रन बनाएर मंगलबार अविजीत रहे । दिपेन्द्र ऐरीले टिमका लागि १५ रनको योगदान दिए । करण केसी ११ रनमा नटआउट रहे ।
जवाफमा नेपाली दुई स्पिनरको अगाडि कमजोर देखिएको भुटान १६ ओभर चार बलमा ३३ रनमा अलआउट भयो । नेपालले भुटानको स्कोरबोर्डमा एक रन पनि नहुदा दुई विकेट लियो । भुटानको स्कोर नौ रन हुँदा ६ विकेट झर्यो ।
ललितले चार ओभरमा चार रन खर्चिदै तीन विकेट लिए भने सन्दिपले चार ओभरमा ६ रन खर्चिए । दवैले दुई-दुई ओभर मेडेन राखेका थिए ।
भुटानका एक खेलाडीले मात्र दोहोरो अंक जोड्दा बाँकि खेलाडी एकपछि अर्को रुपमा आउट भए । नेपालका लागि बसन्त रेग्मीले दुई तथा दिपेन्द्र ऐरी र शरद भेषवाकरले एक-एक विकेट लिए । नेपालले बिहीबार चीनसँग खेल्दै छ ।
असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।
भुटान टी-२० विश्वकप नेपाल