कभर स्टोरी अन्तरवार्ता भिडियो

‘प्रधानमन्त्री ओली आफ्नै गुटको पक्षपोषणमा लागेका छन्’ (भिडियोसहित)

‘प्रधानमन्त्री ओली आफ्नै गुटको पक्षपोषणमा लागेका छन्’ (भिडियोसहित)

काठमाडौं । राजनीतिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा आन्तरिक भन्दा वाह्य कारणले फुटेमा आश्चर्य नहुने बताएका छन् ।

 

नेपाल आजसँग समसामयिक राजनीतिक विषयमा वार्तालाप गर्दै कार्कीले नेकपाभित्र माधवकुमार नेपाललगायतले जुन असन्तोष देखाएर आफ्नै सरकारविरुद्ध सार्वजनिक आलोचना गरे त्यसमा संस्थागतभन्दा व्यक्तिगत स्वार्थ हावी रहेको विश्लेषण गरे । 

 

उनले नेकपाभित्र अहिलेको अन्तर पार्टी संघर्ष भनेको आ–आफ्नो वर्चस्व कायम राख्ने होडबाजी मात्र भएको र गुट आफैँमा नराम्रो होइन तर त्यस गुटले सकारात्मक विचारलाई प्रतिनिधित्व गर्नुपर्ने टिप्पणी गरे । 

 

राजनीतिककर्मी एवं विधिवेत्ता कार्कीले वार्तालापका क्रममा व्यक्त गरेका विचार एवं राजनीतिक विश्लेषणको सारभूत यसप्रकारको छ :


‘जहाँसम्म माधवकुमार नेपालले केही दिन अगाडि संसद्मा जुन विचारहरू अभिव्यक्त गर्नुभयो । त्यो निकै चर्का कुराहरू आएका थिए । त्यसले के देखाउँछ भने नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तर विरोध वा द्वन्द्व निकै चर्किंदै गएको र त्यो विस्फोट हुने स्थितिमा पुगेको संकेत गर्छ ।’

 

‘नेकपाभित्र अहिले विभिन्न गुट रहेको छ । ती गुटमध्ये सबैभन्दा शक्तिशाली गुट भनेको प्रधानमन्त्री केपी शर्मा ओलीको, दोस्रो गुट भनेको प्रचण्डजीको र तेस्रो गुट भनेको माधव नेपालको रहेको छ । अहिले पार्टीमा को प्रभावशाली हुने वा सरकारको सुविधा वा अवसरहरू कसले बढी लिने भन्ने कुरामा चर्को द्वन्द्व सुरुआत भएको छ । अहिलेको लडाइँ भनेको आ–आफ्नो वर्चस्व कायम राख्ने मात्र हो ।’


‘कम्युनिस्ट पार्टीमा संगठनात्मक जनवादी केन्द्रीयताको सिद्धान्त हुन्छ, त्यसलाई नेकपाले संघात्मक सिद्धान्तका रूपमा अवलम्बन गर्न सकेको छैन । त्यसबाट विचलित भएको छ । नेकपामा गुटगत रूपमा निर्णय गर्ने त्यो निर्णय अन्य गुटमाथि लाद्ने गरिएको प्रवृत्ति छ । पार्टीमा विचारका आधारमा गुटहरू बने भने त्यसले सकारात्मक निकास दिन्छ तर स्वार्थको आधारमा गुटहरू बने भने त्यसले दुर्घटना निम्त्याउँछ । नेकपाभित्र देखिएका गुटहरू सैद्धान्तिक र विचारका आधारमा बनेका होइनन् । ती स्वार्थका आधारमा निर्माण भएका गुटहरू हुन् ।’


‘गुटगत स्वार्थका कारण नेकपाभित्र अस्वस्थ द्वन्द्वको सुरुआत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य गुटलाई पनि सहमतिमा ल्याएर अगाडि बढ्नुपर्ने स्थितिमा केपी शर्मा ओली आफैँ आफ्नो गुटभित्रका सबैलाई  कसरी हुन्छ बलियो बनाउने, कसरी हुन्छ अवसरहरू दिलाउने भनेर लागेको अवस्था देखिन्छ । यसले गर्दा समस्या उत्पन्न हुँदै गएको छ ।’  


‘अहिले आम जनता कम्युनिस्ट पार्टीको एकताको पक्षमा छन् । यसका शुभचिन्तक पनि पार्टी टुट्न दिन हुँदैन भन्नेमा छन् । तर नेकपाभित्रको गुटगत संघर्ष निकै तीतो र गहिरो रूपमा बढिरहेको प्रतीत हुन्छ । यसले गर्दा नेपाल कम्युनिस्ट पार्टीको एकताको प्रक्रियालाई जुनसुकै परिस्थितिमा मोडिन सक्छ भन्ने सन्देश दिन्छ ।’


‘नेपालमा अस्थिरता चाहने वाह्य शक्ति चाहे त्यो ओली, प्रचण्ड वा नेपाललाई जुनसुकै कोणबाट उचाल्ने गरिएको होस् उनीहरूको लक्ष्य एउटै केन्द्रमा छ । नेपालमा अस्थिरता होस् ।’


‘नेपालका राजनीतिक पार्टी वा नेताहरूमा आत्म विश्वासको कमीले गर्दा वाह्य शक्तिको प्रभाव परेको देखिन्छ । आखिरमा पार्टी वा नेताको शक्ति भनेको जन समर्थन हो । जन समर्थनको आधारमा पार्टी वा नेता हिँड्यो भने वाह्य शक्तिले त्यसलाई हल्लाउन सक्दैन । नेताहरूमा आत्म विश्वासको कमी छ । अहिले पनि मुलुकको जे आवश्यकता छ, जनताको जे चाहना छ, त्यसलाई बुझिदिन सक्ने त्यसलाई नेतृत्व दिन सक्ने नेता नै जन्माउन सकेनौँ । नेताहरू राष्ट्रिय र देशभक्ति भावनाबाट ओतप्रोत हुन सकेनन् ।’


‘केपी शर्मा ओलीको सरकार कथंकदाचित् असफल भयो भने कम्युनिस्ट पार्टीभित्र गम्भीर असर पार्छ । त्यसले पार्टीको रूपमा भूमिका निर्वाह गर्न सक्दैन । नेकपाभित्रको ओली गुट र अन्य गुटबीचको द्वन्द्व विस्फोटमय र शत्रुतापूर्ण बनाइदिन्छ । जसले गर्दा दुई पार्टीबीचको एकता प्रक्रिया छ त्यो अर्थहीन हुन जान्छ र उनीहरूका बीच विभाजनको रेखा कोरिन जान्छ साथसाथै राष्ट्रिय राजनीतिमा दुईतिहाइ बहुमतको स्थायी सरकार दिने जुन सम्भावना छ त्यो तुहिएर जानेछ ।’

बोर्णबहादुर कार्की राजनीतिक विश्लेषक

विशेष