रगत मात्रै पिएर कसरी बाँच्छ वैम्पायर चमेरो ?
काठमाडौं । चमेराका प्रजातीहरु मध्ये एउटा ‘वैम्पायर’को नामले चिनिने चमेरो सधै ताजा रगत मात्रै पिएर बाँच्ने गर्छ । यो चमेरोको आफ्नो जति वजन हुन्छ त्यसको आधा वजन बराबर आलो रगत यसलाई दिनहुँ चाहिन्छ । यो चमेरोको शरिरमा पोषक तत्व कम हुन्छ । जसका कारण यो प्राणीलाई दिनहुँ रगत आवश्यक पर्छ ।
प्रतिरोधक क्षमता र पाचनको मामिलामा अन्य चमेरोको तुलनामा वैम्पायरको जीन फरक हुन्छ । र शरिरको आन्तरिक संरचना पनि केही फरक हुन्छ । वैम्पायर चमेरोको जीनमा ताजा रगतमा हुने हानिकारक तत्वसँग लड्न सक्ने क्षमता हुन्छ । जसका कारण यसले रगत पचाउन सक्छ । खुनमा ९३ प्रतिशत प्रोटिन, १ प्रतिशत कार्बोहाइड्रेट र अन्य भिटामिनहरु हुने गर्छ ।
वैम्पायरको पाचन प्रणालीले उच्च प्रोटिन पचाउन सक्छ । अर्को अर्थमा भन्ने हो भने यो चमेरोको मुख्य आहार नै प्रोटिन हो । चमेरोहरु कसरी बाँचेका हुन्छन् भन्ने विषयमा धेरै खोज भएको छ । तर वैम्पायरको जीनमा भने धेरै अनुसन्धान हुन सकेको छैन ।
गरिएका अनुसन्धानहरुअनुसार अन्य चमेरोहरुको तुलनामा वैम्पायरको डिएनएमा रोगसँग लड्न सक्ने अधिक क्षमता हुने गर्छ । त्यतिमात्रै होइन यो चमेरोसँग अन्य भाइरल बिमारीहरुसँग लड्न सक्ने क्षमता पनि बलियो हुन्छ ।
राति आँखा देख्ने चमेरोले आफ्नो आहारा पनि राति नै खोज्छ । राति पशुहरुको शरिरबाट रगत चुस्ने गर्छ । कहिलेकाहि मान्छेको रगत समेत चमेरोले चुस्ने गर्छ । वैम्पायरले पशुहरुको नशा पत्ता लगाएर त्यसमै दाँतले चिरा पारिदिन्छ । र निस्केको रगत चाट्दै पिउने गर्छ ।