खेल

स्टार फुटबलर जाङलार्इ आजीवन प्रतिबन्ध !

स्टार फुटबलर जाङलार्इ आजीवन प्रतिबन्ध !

काठमाडौं । दक्षिण कोरियाली फुटबल स्टार जाङ ह्युन सो कोरियाली फुटबल एशोसियसनको आजीवन प्रतिबन्धमा परेका छन् ।

 

 

सैन्य सेवाबाट बच्नका लागि विकल्पका रुपमा दिइएको सामुदायिक सेवाको अभिलेख नक्कली पाइएपछि उनी आजीवन प्रतिबन्धमा परेका हुन् । साथै उनलाई अहिलेसम्म कमाएको २६ हजार ३४० अमेरिकी डलर पनि जरिवाना लगाइएको छ ।

 

 

२७ वर्षे डिफेण्डरलाई दक्षिण कोरियाका सुपरस्टार हुन् । गएको विश्वकपमा साविक विजेता जर्मनीलाई पराजित गर्दा उनी कोरियाली टोलीको मुख्य सदस्य थिए ।

 

 

दक्षिण कोरियामा हरेक पुरुषले दुई वर्षसम्म सेनामा रहेर सेवा गर्नुपर्छ, तर, सन् २०१४ मा एशियाली खेलकुदमा स्वर्ण जित्ने टोलीका सदस्य सोलाई यो बाध्यताबाट मुक्त गर्दै यसको बदलामा ३४ महिनासम्म सामान्य सैन्य प्रशिक्षण र ५४४ घण्टासम्म खेलकुदसँग सम्बन्धित सामाजिक सेवा गर्न भनिएको थियो ।

 

 

उनले सामाजिक सेवाका रुपमा पेश गरेको दस्तावेजमध्ये डिसेम्बर २०१७ मा गरेको भनिएको १९६ घण्टाको सेवा नक्कली प्रमाणित भएको हो ।

 

 

उनले दस्तावेजमा जुन क्षेत्रको सेवा गरेको उल्लेख गरेका छन्, त्यस क्षेत्रमा डिसेम्बरको महिनामा भारी हिमपात हुन्छ र बाहिरी गतिविधि सम्भव नै हुँदैन । 

 

 

 

सो ले हालै आफ्नो गल्ती स्वीकार गरेका छन् । र, त्यसपछि कोरियाली फुटबल संघको फेयर प्ले कमिटीले उनलाई प्रतिबन्ध लगायो ।

 

 


फेयर प्ले कमिटीका संयोजक वकिल सुह चाङ हीले भने, ‘हामीले राष्ट्रिय टोलीको छनोटबाट स्थायी रुपमा जाङलाई प्रतिबन्ध लगाएका छौं । केएफए विधानअनुसार उनलाई अधिकतम जरिवाना पनि लगाइएको छ ।’

 

 

फुटबल खेल्नबाट जीवनभर प्रतिबन्ध पाउने खेलाडीको भविष्यबारे सात वर्षपछि समीक्षा गर्न सकिने नियम छ । तर, राष्ट्रिय टोलीमा पुनरागमनबारे भने कुनै नियम छैन ।

 

 

जापानको जे लिगमा एफसी टोक्योबाट खेलिरहेका जाङलाई यसै महिना हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीमा बोलाइएको छैन ।

फुटबल स्टार जाङ ह्युन सो कोरियाली फुटबल एशोसियसन

विशेष