विदेशीले ‘जहाज किन्ने फाइल अघि नबढाउनू ५ करोड दिन्छौं’ भनेका थिए
काठमाडौं । सुगतरत्न कंसाकार नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशक हुन् । जहाज खरिदको प्रकरणमा उनको नाम बिर्सन नसकिने गरी जोडिएकोछ । जहाज खरिदका क्रममा पटकपटक उल्झन खेपेका कंसाकारले यसपटक भने स्याबासी पाएका छन् । तर जहाजले राम्रो उडान भर्न नपाउने, भएकै जहाज पनि थन्केर बस्नु पर्ने, दैनिक लाखौंको घाटा हुने जस्ता विवादमा कंसाकार अहिले पनि छन् । कंसाकारको अहिलेको कुरा चाहिँ के छ त ? नेपालआजसँग कंसाकारले यसरी आफ्ना कुरा राखेका छन्ः
वाइड बडी भाडाको भन्नु ‘जोक’ जस्तो
वाइड बडी भाडामा भन्ने त ‘जोक’ जस्तो भयो । हामीले बोलपत्र नै खरिदका लागि गरेका हौं । खरिद सम्झौता र खरिद नै गरेका छौं । जग्गा किन्दा आफ्नो नाममा लालपुर्जा नभएसम्म जग्गा किनेको मान्न सकिदैन । त्यसै गरी जहाज खरिदको प्रमाणपत्र हुने गर्छ । भाडामा लिनेदिने प्रमाणपत्र बेग्लै हुन्छ । हामीसँग जहाज खरिद गरेको प्रमाणपत्र नै छ । यसकारण हामीले जहाज किनेको हो, भाडामा लिएको होइन । भाडामा लिएको हो भने वर्षको कति भाडा हामीले हाइफ्लाईलाई बुझाउनु पर्छ त ? यस्तो कुनै कुरै होइन । हामीले जहाज किनेको हो ।
हामीले जहाज नेपालमा ल्याएपछि त्यो जहाजको कागजात नागरिक उड्डयन प्राधिकरणले हेर्छ । कागजपत्र नभएसम्म त उडान अनुमति नै दिँदैन । भाडामै ल्याएका जहाज पनि उडान भर्न पाउँछन् । तर कागजपत्र फरक हुने गर्छ । प्राधिकरणले शुरुमै हवाइजहाजको मालिक को हो भन्ने खोज्ने गर्छ । त्यो नभई हुँदै हुँदैन ।
दुई खाले गृहकार्य
हवाइजहाज नयाँ किन्ने भएपछि गृहकार्यहरु तयार गर्नु पर्छ । केही गृहकार्य जहाज आउनु अघि नै गर्नुपर्छ । केही गृहकार्य जहाज भौतिक रुपमा आएपछि मात्रै हुनुपर्छ । दुईवटा वाइडबडी जहाज आउने भएपछि तीन वर्षअघि नै दक्षिण कोरियाको सिओल गएर त्यहाँको विमानस्थलमा कुराकानी गरेका थियौं । र त्यहाँको विमानस्थलले अनुमति दिएको थियो । जापानमा पनि गएर अनुमति लिएका थियौं । दुईवटा वाइड बडी जहाज नेपाल उतारेपछि एक महिनासम्म त उडाउन पाएनौं । किनभने यहाँको नियमनकारी निकायले सबै कुरामा ठीक छ नभेनसम्म हामीले उडाउन पाउने कुरा भएन ।
कोरिया र जापानको पनि नियमनकारी निकायले पनि अनुमति दिनु पर्छ । अनुमति दिनका लागि उनीहरुले सोध्ने भनेको ‘जहाज आइसकेको हो ?’ भन्ने हो । आइसकेको हो भने नेपालको नागरिक उड्डयनको अनुमति पत्र माग्छ । हामीले एक महिनापछि प्राधिकरणको पत्र पायौं । त्यो पत्र लगेर दियौं । त्यो पत्र दिएपछि ब्लाक लिस्टको कुरा निकाल्न थाले ।
सन २०१७ अन्त्यसम्ममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ)बाट हामी उम्कन पाउँछौं भन्ने आशामा थियौं । त्यसको ६ महिना अघि नै हामी उम्कियौं । १८० वटा देश सदस्य रहेको आइकाओले ब्लाक लिस्टबाट हटाए पनि ती देशका निकायले मानेनन् । उनीहरुले हामी आफै चेक गर्छौैं भन्न थाले । यो वर्षको नोभम्बरसम्ममा उनीहरुले अनुमति देलान भन्ने सोचेको तर दिएनन् । यो हामी साना मुलुकहरुमाथि उनीहरुले गरेको अन्याय हो जस्तो लाग्छ । इयुले अहिलेसम्म नेपालको विमानस्थल ब्लाक लिस्ट राखेको हो, कुनै एअरलाइन्सलाई राखेको होइन । उनीहरुले टेक्निकल अडिट गर्छन् ।
जपान र कोरियाबाट पनि आउने कुरा छ । तर आएका छैनन् । हामीले आउ भनिरहेका छौं । उनीहरु आएका छैनन् । उनीहरुको टोली नेपाल आएपछि फिक्स हुन्छ । जापानमा कुनै शंका छैन । किनभने उनीहरुको जहाज नेपाल आउँदैन । कोरियाको आउँछ । यसकारण उनीहरु बढी सतर्क होलान् ।
ब्लाक लिस्टमा परेको, जापान कोरियाले पनि अनुमति दिइ नसकेको भनेर समाचारहरु आउन थालेपछि साउदी अरबले पनि आनाकानी गर्न थाल्यो । लण्डनमा भने हाम्रो पुरानो नै उडान भइरहेकोले ब्लाक लिस्टमा परे पनि उडान रोकिदैन । भइरहेको छ ।
नेपाल एअरलाइन्स आफैले अन्तर्राष्ट्रिय उडान गर्न थालेपछि अन्य विदेशी एअरलाइन्सहरुको व्यापार बन्द हुन्छ । अनि उनीहरुले नै चलखेल गरे कि भन्ने हामीलाई शंका पनि छ । तर ठोस प्रमाण नभइ के भन्ने ?
टाइम्स अफ इन्डियाको न्युज
एक महिना अघि टाइम्स अफ इन्डियामा एक समाचार आयो । समाचारमा नेपालको भन्दा पनि हवाई यात्रा भारतको असुरक्षित भन्ने । त्यो समाचार पछि पनि इयुले भारतलाई त ब्लाक लिस्टमा राखेको छैन । म्यान्मार, श्रीलंका र नेपाल भन्दा पनि असुरक्षित यात्रा भारतमा छ भन्ने समाचार आयो । भारतलाई ब्लाक लिस्टमा राख्ने आँट इयुको छैन । तर नेपाललाई ब्लाक लिस्ट राख्नु भनको हामीले हल्ला गर्न नसकेको मात्रै हो ।
हाम्रो जहाज अहिले दुवई, दोहा, फ्रयांकफर्ट चलिरहेका छन् । जापान, कोरिया र केही मुलुकहरुमा समस्या भएको हो ।
एउटा विदेशी एअरलाइन्सको साहु छ यहाँ । उ तीन करोडको गाडी चढेर हिँड्छ । दुई चार करोड खर्च गर्न सजिलै सक्छ । उनीहरुले आफ्नो व्यापार जोगाउन ८–१० करोड फाल्न सक्छन् । मैले केही वर्ष अघि आफ्नै अफिसका साथीहरुलाई पनि भनेकाे थिएँ कि प्रलोभन आउन सक्छ । मलाई पनि अन्तर्राष्ट्रिय उडान भर्ने जहाज किन्ने फाइल अगाडि नबढाउने भए पाँच करोड दिन्छु भनेका थिए ।
अहिले त किनेरै देखाइदिए । अब यसले मूर्त रुप लिन्छ ।
नेपालमा २४–२५ वटा विदेशी एअरलाइन्सले उडान भर्छन् । सबै फाइदामा छन् । संसारको अरु भन्दा बढी नाफा नेपालमै छ । उनीहरुका लागि सबैभन्दा बढी नाफा नेपालबाट हुने गरेकाे छ ।