हराएका किशोर पाँच दिनपछि मृत अवस्थामा फेला
बारा । पाँच दिनदेखि हराएका निजगढ नगरपालिका–९ ठाडोलाइनका १८ वर्षका विनोद खड्का मृत अवस्थामा फेला परेका छन् । घरभन्दा २ सय मिटर पूर्व रहेको प्रदीप खड्काको केराबारीमा मंगलबार बिहान उनी मृत भेटिएका हुन् ।
प्रहरी टोली घटनास्थलमा पुगेर छानबिन गर्ने क्रम जारी रहेको छ । चाडबाडको बेला भएकाले खेतमा कोही नगएको कारण शव ढिलो फेला परेको प्रहरीले बताएको छ ।
शवमा कुनै प्रकारको बाहिरी चोट पटक नदेखिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए ।
मृतकका बुवा वैदेशिक रोजगारीमा छन् । पढाइ छाडेका विनोद बेला–बेलामा घर छाडेर हिड्ने गरेका कारण बेपत्ता भएको अवस्थामा खोजी कार्यमा परिवारले ध्यान नदिएको स्थानीयले बताएका छन् ।