राजधानीमा छठ पर्वको रौनक (फोटोफिचर)
काठमाडौं । हिन्दु नेपालीहरुको पर्व छठको मुख्य दिन मंगलबार बेलुका अस्ताउँदो सूर्यको पूजा गरेसँगै काठमाडौंको कमलपोखरी एवं गौरीघाट, गुह्येस्वरी बागमती नदी बत्तीले झकमक्क बनेको छ । बालबालिकादेखि वृद्धा तथा महिलाहरु छठ पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।
मंगलबार बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभरि नदी तलाउमै ब्रत बस्दै भोलिपल्ट बुधबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्वको समाप्ती हुने गर्दछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज प्रमुख दिन हो । सूर्यको आराधना र पूजाको यो पर्व आइतबारदेखि सुरु भएको हो ।
छठ पर्वको मुख्य दिन श्रदालु भक्तजनहरु कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गर्दै अर्घ दिने गर्द छन् । षष्ठीमा रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिदै छठ पवर्को समापन हुन्छ ।
तराईमा मात्र नभई पछिल्ला वर्षहरुमा छठ पर्व काठमाडौंका विभिन्न स्थानमा पनि धुमधामका साथ मनाइँने गरिन्छ । काठमाडौंको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा छठ पर्व विशेष रुपमा मनाइँएको छ ।