कुकुरको शरिरमा प्रधानमन्त्री ओलीको टाउको राखेको फोटो सेयर गर्ने पक्राउ
काठमाडौं । कुकुरको शरिरमा प्र्रधानमन्त्री केपी शर्मा ओलीको टाउको जोडेर बनाइएको फोटो सामाजिक सञ्जालमा सेयर गरेको कारण एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति नेविसंघ काभ्रेका नेता कृष्ण ढकाल हुन् ।
सरकारको यो कदमप्रति नेविसंका कार्यकर्ताहरूले सामाजिक सञ्जाल फेसबुकमा चर्को विरोध गरिरहेका छन् । नेविसंघका कार्यकर्ताका अनुसार, उक्त कार्टुन ढकालले बनाएका होइनन् । उनलाई पक्राउ गर्नु कम्युनिस्ट अधिनायकवाद भएको उनीहरूको आरोप छ ।
सामाजिक सञ्जाल फेसबुकमा नेविसंघका महामन्त्री कुन्दन राज काफ्ले लेख्छन्, ‘यो कार्टुन कसले बनायो थाहा छैन । सेयर गरेकै भरमा नेविसंघ काभ्रेका नेता भाइ कृष्ण ढकाललाई केपी सरकारले बिना कारण गरेको पक्राउ तथा कम्युनिस्ट अधिनायकवादको विरोध तथा बिना सर्त रिहाई गर । सरकार सक्छस् भने हानीलाई समात् ।’
भदौ १ गतेदेखि कार्यन्वयनमा गएको ऐनमा कसैको फोटो बिगारेर सामाजिक सञ्जालमा हाल्न कानूनले प्रतिबन्ध लगाएको छ । यस्तै अरूलाई हैरान पार्र्ने नियतले फोटोकोे दुरूपयोग गरेमा ३ वर्षसम्म कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि ऐनले गरेको छ ।