विवाहको फोटो बाहिर ‘लिक’ हुन नदिन छातामुनि लुके दीपवीर
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले बुधबार विवाह गरेका छन् । दुवैले बुधबार कोंकणी रितीरिवाजमा विवाह गरेका हुन् । उनीहरू अब शुक्रबार सिन्धी रितीरिवाजमा फेरि विवाह गर्नेछन् । किनभने दीपिका कोंकणी र रणवीर सिन्धी परिवारका हुन् । दीपवीरले विवाहको फोटा ‘लिक’ हुन नदिनका लागि सुरक्षाको कडा व्यवस्थासमेत गरेका थिए । यति गर्दा पनि नभएपछि मिडियाबाट बच्नको लागि छाताकोसमेत साहारा लिनुपरेको थियो ।
विवाह पहिला नै दीपवीरले विवाहको फोटो बाहिरिन नदिनका लागि तयारी गरिसकेका थिए । दुवैले विवाहस्थलको सुरक्षाको लागि एक करोड भन्दा बढी पैसा खर्र्च गरे । रिपोर्ट अनुसार, विवाहस्थल भिल्ला बालबियानेल्लोको आसपास रहेका मोटर बोट्समा क्यामरा जडान गरेर सुरक्षा गार्डलाई पनि खटाइएको थियो । यति धेरै सुरक्षा अपनाउँदा पनि विवाहको भिडियोमात्र होइन फोटो पनि लिक भएको छ । तर, अहिलेसम्म ‘क्लियर’ फोटो भने आएको छैन । स्रोतले जनाएअनुसार, बिहिबार सिन्धी परम्परामा हुने दोस्रो विवाह पछि दीपवीर आफ्नो फोटो सार्वजनिक गर्नेछन् ।
‘लिक’ भएको भिडियोमा मिडियाबाट बच्नको लागि दीपवीर कालो छातामा लुक्दै गरेको देखिएको छ । यतिमात्र होइन, विवाहमा आएका पाहुना पनि उनीहरूलाई छाता भित्र लुकाउन सहयोग गरिरहेका छन् । विवाहलाई अत्यन्तै प्राइभेट राख्ने उद्देश्यले आएका पाहुनालाई पनि मोबाइल फोनको प्रयोग नगर्न अपिल गरिएको थियो । खबरअनुसार, विवाहमा आएका पाहुनाको मोबाइलको क्यामरामा स्टिकर टालिएको थियो ।
इटालीमा विवाह भएपछि दीपवीरको २८ नोभेम्बरमा होटल ग्राण्ड हयातमा रिसेप्सन हुन्छ । उक्त रिसेप्सनलाई रणवीरका परिवारले होस्ट गर्दैछन् । त्यस्तै २१ नोभेम्बरमा दीपिकाको होमटाउन बेंगलररूमा रिसेप्सन हुनेछ । यस रिसेप्सनलाई दीपिकाका परिवारले होस्ट गर्नेछन् ।