नेपाललाई माया गर्ने धर्मगुरु राहुलेश्वरको जन्मदिन मनाइयो
काठमाडौं । नेपालमा राजसंस्था स्थापना र हिन्दु अधिराज्यको संकल्पमा अनवरत समर्थन र हौसला दिने धर्मगुरु राहुलेश्वर महाराजको जन्मदिन नेपालमा पनि धुमधामका साथ मनाइएको छ ।
भारतीय भएर पनि नेपाल र नेपालीका पक्षमा एक स्वतन्त्र हिन्दुअधिराज्यको पक्षमा आफूलाई उभ्याउने धर्मगुरु राहुलेश्वरका जन्मदिन शिव सेना नेपाललगायत राजनीतिक तथा धार्मिक संघसंस्थाले मनाएका छन् ।
जन्मदिनका अवसरमा काठमाडौंको दक्षिणकालीमा शिव सेना नेपालले हिन्दुराज्य स्थापनाका लागि सामूहिक साधना गरेको थियो । सो अवसरमा नेपाल सदैव अखण्ड रहोस भन्ने कामना गरिएको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबाले बताउनु भयो ।
“मेरो भौतिक शरीर विश्व ब्रम्हाण्डको कुनै कुनामा भए पनि मेरो मन सदा सर्वदा ऋषिमुनी, तपश्वी र शिद्धात्माहरुको शिव गोरक्षभूमि नेपाल मै हुनेछ” भन्ने महानवाणी सम्प्रेषण गर्ने राहेलेश्वर स्वामीले हालै भारतको मुम्बईमा लक्ष्यचण्डी महायज्ञको आयोजना गर्नुभएको थियो । जसमा १ हजारवटा त यज्ञ नै स्थापना गरिएको थियो ।
'राहुलेश्वर स्वामी र शिव सेना नेपालको संयुक्त प्रयासमा काठमाडौंको पशुपति क्षेत्रमा केही समय अघि सामूहिक विवाह र सामूहिक व्रतवन्धको आयोजना समेत गरिएको थियो ।
नेपाली मौलिकता, नेपाली धर्म, मूल्य र मान्यताको पक्षमा आफूलाई उभ्याउने स्वामी राहुलेश्वरका नेपालमा असंख्य अनुयायीहरु रहेका छन् । स्वामी राहुलश्ेवरले नेपालकै दक्षिणकालीबाट शिद्धी प्राप्त गर्नु भएको हो । दश महाविद्या मध्ये एक विद्या नेपालबाट उहाँले नेपालबाट प्राप्त गर्नु भएको हो । स्वामी राहुलेश्वरको निकट सम्बन्ध नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि रहेको बताइन्छ ।
लक्ष्यचण्डी महायज्ञमा पूर्वराजालाई राहुलेश्वरले नेपालका नरेशकै रुपमा मान्यता दिनुभएको थियो ।