देश

बहुमतको दम्भमा जबर्जस्ती गर्न खोज्दा टंकीसिनवारी जेसीसमा विवाद 

बहुमतको दम्भमा जबर्जस्ती गर्न खोज्दा टंकीसिनवारी जेसीसमा विवाद 

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको टंकीसिनवारी जेसिसमा चुलिएको विवाद अदालतसम्म पुगेको छ । २०७४ साल मंसिर २९ गते टंकीसिनवारी जेसिसको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी सुप्रभा निरासी न्यौपाने निजी कामको सिलसिलामा बाहिर जाने भएपछि चुलिएको विवाद कार्यवाहक अध्यक्ष र त्यसपछिको साधारण सभा हुँदै अदालत सम्म पुगेको हो ।

 

गत माघ ८ गते भएको सुप्रभा निरासीलाई जेसिस अध्यक्षको रुपमा पदस्थापन गरिँदा नेपाल जेसिसको राष्ट्रिय अध्यक्षसहित ८ जना पदाधिकारीहरु आएका थिए । लालबाबु पण्डितलाई प्रमुख अतिथी बनाईएका थियो । निर्विरोध निर्वाचित भएकी सुप्रभा कामको सिलसिलामा गत असार २२ गते जापान गएपछि पूर्बअध्यक्ष, महासचिवको उपस्थितिमा पूर्वकार्यकारीणी उपाध्यक्ष तथा पूर्वमहासचिव एवंम वर्तमान शाखा सम्पादक ईश्वर भण्डारीलाई कार्वावाहक दिएकी थिईन् । त्यस लगतै टंकीसिनवारी जेसिस भित्रको असन्तुष्टि जनाउने केही पक्ष सल्वलाएपछि उनलाई नै हटाउने चलखेल शुरु भएको थियो ।
 

त्यस अघि असार १४ गते निवर्तमान अध्यक्षले  आफैं अध्यक्ष हो भनी साधारणरण सभाको माईन्युट बनाएर चलखेल शुरु गरेका थिए । त्यस माईन्युटमा फरक फरक लेखाई तथा फरक पेपर भएको पाईएपछि त्यहीँबाट किर्ते शुरु भएको सदस्यहरु आरोप लगाउँछन् । पहिलो उपस्थितिमा प्रिन्ट पेपरमा भएको र दोश्रो पेपरमा डिक पेपरमा भएको माईन्युटको फोटोकपीबाट स्पष्ट हुन्छ ।

प्रस्तावमा सादा पेपर छ भने निर्णयमा लाईन भएको पेपरमा देखिन्छ । कार्यवाकहक अध्यक्ष ईश्वर भण्डारीले २०१८को अध्यक्ष सुप्रभालाई नै पत्र लेखेर आफ्नो राजीनामा दिएका हुन । महासचिवको उपस्थितिमा दिईएको जिम्मेवारी आफ्नो ब्यक्तिगत कार्य ब्यस्तताको कारण देखाउँदै उनले आफ्नो कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको सुप्रभालाई पठाएको निवेदनमा उल्लेख भएको छ ।

असार २२ गते लिएको जिम्मेवारीका बीचमा भण्डारीले २५ गते बैठक नै बोलाएर उपस्थिति गराएका थिए । तर त्यसको ५ दिन नबित्दै उनले राजीनामा दिनुको पछाडिको कारणको बारेमा पूर्व अध्यक्षहरुको दबाब रहेको जेसीस सदस्यहरुको आरोप छ ।
उनले ३० गते दिएको राजीनामा लगतै ३० गते नै अर्को पक्ष पूर्वअध्यक्षहरुले प्रदीपप्रसाद बराललाई अध्यक्ष बनाउन १४ गतेको मितिमा निर्णय गर्न लगाएको टंकीसिनवारी जेसिसकी कार्यकारीणी उपाध्यक्ष पबित्रा खड्काले बताईन् ।

 

साधारण सभा ३० गते बोलाईएको थियो तर मिति १४ गते बनाईएको पछि मात्र थाहा भएको उनको आरोप छ ।

 

यसरी माईन्युट बनाउन पनि दबाब दिईएको स्वयं माईन्युट गर्नेहरुले नै बताइरहेका छन् । माईन्युट बनाएका जेसिसका महासचिव चिरन्जीबी न्यौपानेलाई पूर्वअध्यक्षहरु नौमीराज न्यौपाने, सुबोध कोईराला, शिव कोईराला र सोेमराज काफ्ले दवाव दिएर माईन्युट बनाउन लगाईएको उनले बताएका छन् ।

यसरी बनाईएको माईन्युटमा निवर्तमान अध्यक्ष निर्वाचन आयुक्त हुनु पर्ने ब्यवस्था बिपरित जेसीस २०१५ का अध्यक्ष सोमराज काफ्लेलाई निर्वाचन आयुक्त बनाउने निर्णय माईन्युटमा उल्लेख छ । निरुपित उपाध्यक्ष अमिश ढकाल र कार्यकारीणी उपाध्यक्ष विकास मानन्धरले गलत रिपोर्टिङ नेपाल जेसिसलाई गराएको समेत आरोप सदस्यले लगाएका छन् । जेसिसमा एक ब्यक्ति , एक पद र एक बर्ष कार्यकालको ब्यवस्था गरिएको छ । तर त्यसको बिपरितका गतिबिधिहरु पछिल्लो घटनाक्रमले उल्टो देखिँदै जान थालेको सदस्यहरुको भनाइ छ ।

 

टंकीसिनवारी जेसिसका संस्थापक भिम घिमिरेले अहिलेको अध्यक्षको बिषयमा भएको साधारण सभाको माईन्युट अबैधानिक रहेको बताएका छन् । ‘झगडा नगर’ भन्ने पक्षमा आफू रहेको भए पनि त्यो मान्ने पक्षमा दुबै समूह नदेखिँदा अहिले बैधानिकताको बिषयलाई लिएर सुप्रभाको समूह अदालतसम्म पुगेको उनले स्वीकार गरे ।

उनका अनुसार, एउटा समूहले पदच्युत गरेर अर्को अध्यक्ष बनाएको भन्ने कुरा हो, दुबै पक्षलाई राखेर छलफल पनि भएको हो तर दुबै नमान्दाको परिणाम अहिलेको जेसिस भित्रको विवाद सतहमा आएको छ । ‘एक बर्षको कार्यकाल हुने जेसिस अध्यक्षको निर्वाचित अध्यक्षको कार्यकाल ७ महिना भईसकेकोमा पछिल्लो ३ महिना कामै नहुने र २–४ महिना चेन्ज गर्ने काम नै नगर भनेको हो, उनले भने, ५१ प्रतिशतले राजीनामा दिएपछि स्वतः खारेज हुने ब्यवस्था रहेको छ तर अहिलेको साधारण सभा बिधि नपुर्‍याई गरेको हो ।’ उनले पछिल्लो टंकीसिनवारी जेसिसबाट भएको कार्य गलत भएको बताएका छन् । यो बिषयमा आफू दुःखी भएको सुनाए । एउटा ब्यक्तिले गर्दा भविश्यमा राष्ट्रिय अध्यक्ष हुने योग्यता बोकेका भाईबहिनीको भविश्य नै अहिलेको विवादले अन्यौलमा पारेको उनको तर्क छ ।

यस बारेमा अधिवक्ता सीता पौडेलले मिलाउने प्रयास गरेको तर सफल नभएको उल्लेख गरिन् । एक महिना जति मिलाउने प्रयास भएको पनि थियो । भिम घिमिरे टंकीसिनवारी जेसिसको संस्थापक अध्यक्ष भएकोले उनलाई नै भनिएको थियो । उनलाई नेतृत्व गर्नको लागि आग्रह गर्दा पनि घिमिरेले वास्तै नगरेको अधिवक्ता पौडेलले बताईन् । यसरी अदालतमा आएको बिषयलाई दुई पक्ष मिल्दाको अबस्थामा संस्थाको बेइज्जती हुनबाट जोगिने बारेमा पनि जानकारी गराएको उनले सुुनाईन् ।

सुप्रभाको ७ महिनाको कार्यकाल सिध्याउन एकै दिन बसेर कागज पत्र बनाईएको पाईएको छ । एकै दिन बनाएका डकुमेन्ट कुनै मिल्दाजुल्दा नभएको अधिवक्ता पौडेलको भनाइ छ । ‘एउटै ब्यक्तिको सही एक ठाउँमा एउटा अर्को ठाउँमा अर्कै भएको पाईएको छ । जेसिस जसरी बाहिरबाट देखेका थियौ, भित्र हेर्दा त भद्रगोल रहेको पाईयो, उनले भनिन् ।

यसरी टंकीसिनवारी जेसिसको विवाद भनेको महिला नेतृत्वलाई स्वीकार गर्न नसकेको जस्तो त्यहाँको घटनाक्रमले देखिएको उनले बताईन् । कसरी फालौं भन्ने अबस्थामा रहेका पूर्वअध्यक्षहरु सुप्रभा आफ्नो निजी काममा बाहिर गएको अबस्थामा पुरुषवादी हैकम चलाउनेहरुले खेलेको खेल नै अहिलेको अदालतसम्म जेसिस विवाद पुग्नुको कारण रहेको अधिवक्ता पौडेलको बुझाइ छ ।

 

 यो बिषयमा उच्च अदालतमा दर्ता भएको उत्प्रेषण रिट हो उनले भनिन्, ‘अन्याय भएको हो हैन भन्ने बारेमा अदालतले कारण देखाउन आदेश समेत दिई सकेको छ ।’

 

गत असोज १४ गते नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष र कार्यकारीणी उपाध्यक्षसहित १७ जनाबिरुद्ध, उच्च अदालत बिराटनगरमा रिट दायर भएको हो । नयाँ कार्यसमिती निर्वाचन आयुक्त, पूर्वअध्यक्ष सुबोध कोईराला र सोमराज काफ्लेबिरुद्ध पूर्वअध्यक्ष रीता न्यौपानेसहितका ३ जनाले मुद्दा दायर गरेका हुन् ।

 

टंकीसिनवारी जेसिसलाई विवादमा ल्याउने भूमिका खेलेको भनेर आरोप लागेका सुबोध कोईरालाले संस्थालाई गतिदिन नयाँ अध्यक्ष ल्याईएको प्रतिक्रिया दिएका छन् । बिधानबिपरित गतिबिधि केही गरेको भए तनाव हुने थियो तर त्यसोे नगरी संस्थालाई निकास दिलाउने काम अहिलेका पूर्वअध्यक्षहरुबाट भएको उनको भनाइ छ ।

 

अध्यक्ष सुप्रभा कामको सिलसिलामा बाहिर जाँदा प्रक्रिया पुर्‍याएर जानु पर्नेमा त्यसो नगरेको, कार्यवाहक दिँदा बिधि नपुर्‍याएपछि त्यहीँ मध्यको एकजनालाई साधारणसभाले नयाँ अध्यक्ष चयन भएको उनले बताए । उनकाअनुसार जति सदस्य छन् त्यसको दुई तिहाई सदस्यले त्यो निर्णयलाई साथ दिएको र १३ जना पूर्वअध्यक्ष मध्य ११ जनाले पछिल्लो निर्णयलाई साथ दिएको उनको तर्क छ ।

 

विवादको मुख्य कारण भनेको ३० गतेको बैठकमा १४ गतेको मितिमा माईन्युट गरेको भन्ने नै अहिलेको विवादको रुपमा देखिएको हो । सबैले आफ्ना निकटलाई च्याप्ने प्रवृत्ति टंकीसिनवारी जेसिसमा शुरु भएको छ । यो सिको अन्यत्र भएमा जेसिस भित्र राजनीति हुन थालेको कतिपयको बुझाइ छ ।

 

जेसिस जोगाउनको लागि लागेको बताउँदै आएकी रीता न्यौपानेले माईन्युटमा किर्ते गरिएको तथा ३० गतेको बैठकमा १४ गतेको साधारण सभाको माईन्युट बनाएपछि त्यो बिषय चित नबुझेर अदालत गएको उनले बताईन् । हालका अध्यक्ष प्रदीपप्रसाद बराललाई अहिलेको विवादको बारेमा जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

 

विवादको निरुपण गर्ने जिम्मेवारी नेपाल जेसिसले लिनु पर्नेमा खासै चासो देखाएको छैन । तर अहिलेका अध्यक्ष बराललाई नै नेपाल जेसिसले आधिकारिकता दिएको छ । नेपाल जेसिसका अध्यक्ष श्रीधर बस्यालले प्रतिक्रिया दिँदै भने ‘सुप्रभाजीले कार्यसमिति भन्दा बाहिरको ब्यक्तिलाई कार्यवाहक बनाएपछि टंकीसिनवारी जेसिस बोर्डले स्वीकार नगरेको हो ।’ अध्यक्ष बस्यालले ‘बाहिरका व्यक्ति’ भनेर इश्वर भण्डारीलाई इंगित गर्न खोजेका हुन् । तर उनी टंकीसिनुवारी जेसीसका शाखा सम्पादक हुन् । यो पद कार्यसमिति भित्रैको मानिन्छ ।   अर्को रोचक कुरा के छ भने बस्यालले कार्यसमितिका मान्छे होइनन् भनिएका ईश्वर भण्डारीले साधारण सभामा कोषाध्यक्ष भन्दा माथिल्लो वरियतामा रहेर हस्ताक्षर गरेका छन् । 

 

सुप्रभा निरासीले बोर्ड भन्दा बाहिरको ब्यक्तिलाई कार्यवाहक बनाएपछि विधान अनुसार १५–२० दिनको समय राखेर साधारण सभा बोलाईएको र त्यही साधारण सभाले अहिलेको अध्यक्ष बनाएको भन्ने जानकारी आएको तर अदालतसम्म केश पुगेको भन्ने बारेमा जानकारी नभएको अध्यक्ष बस्यालले बताए । अध्यक्ष बस्यालको यो भनाइ पनि विवादास्पद छ । किनभने सुप्रभा निरासीले कार्यवाहक अध्यक्ष तोकेको ८ दिनमै साधारणसभा गरिएको थियो । 

विशेष