दर्शकले स्टेजबाट कति लखटे कति !(भिडियोसहित)
काठमाडौं । विश्वप्रसिद्ध साहित्यकार लर्ड ब्रायन भन्छन्, ‘सकेको बेलामा हाँस्नुस्, यो सस्तो औषधि हो ।’ त्यसो त हाँस्नुका धेरै वैज्ञानिक फाइदा छन् । ती मध्येको एउटा मुख्य फाइदा – आयु लामो हुन्छ भनिन्छ । जति हाँसियो त्यति स्वस्थ्य रहन सकिन्छ ।
तर, आजको व्यस्त जीवनमा प्रायः मानिसहरू हाँस्नै भुलेका हुन्छन् । नेपालमा भरखरै मात्र सुरु भएको कमेडी स्टेज सोहरू मध्येको एक हो ‘स्ट्यान्डप कमेडी’ । दर्शकमाझ हाँसो ल्याउने उद्देश्यले बनेको यस सो नेपाली युवापुस्तामाझ निकै लोकप्रिय बनेको छ । युटुबमा ‘स्ट्यान्डअप कमेडी’ का भिडियोहरूलाई लाखौं पटकसम्म हेरिएको छ । नेपालमा यसको सुरुवात, दर्शक हँसाउने कलाजस्ता विविध विषयमा ‘स्ट्यान्डप कमेडियन’ अपुर्व क्षितिज सिंहसँग नेपाल आजकी अर्कना खातुनले कुराकानी गरेकी छन् । प्रस्तुत छ सो कुराकानीका क्रममा अपुर्वले व्यक्त गरेका धारणा ।
ओइ हट् हट्
कमेडियन अपुर्व भन्छन्, ‘हँसाउन जति गाह्रो काम संसारमै अरू केही छैन् ।’ उनी सुनाउँछन्, ‘पब्लिकलाई मन पर्ने किसिमको जोक बनाउन, लेख्न धेरै गाह्रो छ । जुन दृष्टिकोणको साथ तयार पारिएको हुन्छ त्यही दृष्टिकोणकोसाथ स्टेजमा भन्नु पर्ने हुन्छ । जोक्स मन नपरेको खण्डमा दर्शकले ‘ओइ हट हट’ सम्म पनि भनेको बताउँछन् उनी । त्यति मिहेनतले सोचेर जोक्स तयार गरिन्छ यदि दर्शकलाई मन परेन या उनीहरू हाँसेनन् भने त्यो राति निन्द्रा नलाग्ने उनी बताउछन् ।
हालै ‘स्टान्ड अप कमेडी’ मा प्रतिस्पर्धा गर्ने कलाकर नै नभएको अनुभव अपुर्वसँग छ । ‘मुख्य कुरा त, यो क्षेत्रमा धेरै जना छैनौं र जति छौं सबैले एक अर्कालाइ चिनेकै हुन्छौं । आज एक जनाको प्रस्तुति छ भने भोलि अर्कोको हुन्छ त्यसैले अहिले थोरै भएकोले प्रतिस्पर्धा छैन् ।
सेक्स जोक्समा दर्शक रमाउँछन्
अपुर्व भन्छन्, ‘म विशेषगरी महिला र सेक्सको विषयलाई लिएर जोक्स गर्नुपर्दा अलिक ख्याल गरेर नै बोलिरहेको हुन्छु । दर्शक हँसाउदा सबै कुरालाई ब्यालेन्स गरेर बोल्छु । अन्य साथीहरूले सेक्सको विषयसँग जोडिएका शब्दहरू धेरै प्रयोग गरिरहेका हुन्छन् । तर यदि कथाले मागेको छ भने प्रयोग गर्दा केही फरक नपर्ला जस्तो लाग्छ मलाई । किनभने सेक्स जोक्सले ‘लाफ्टर इजी’ हुन्छ र अडियन्स पनि रमाउँछन् । त्यसैले पनि कमेडियनहरूले त्यस विषयलाई लिएर जोक्स बनाउँछन् । यसले गर्दा दर्शकलाई सजिलै हँसाउन सकिन्छ । केटीहरूलाई मात्र हेप्ने शैलीले म व्यंग्य गर्दिनँ । केटाकेटी दुवैलाई बराबरी रूपमा व्यंग्य गरेको हुन्छु ।
मधेसीहरूले कमेडी नै बुझिदिएनन्
आफूलाई मन परेको कमेडी ‘बिइङ अ मधेसी’ रहेको सुनाउँछन् अपूर्व । उनले काठमाडौंबासीहरूलाई मधेसीबारे केही सकारात्मक सन्देश दिने उद्देश्यले कमेडी गरेका थिए । मधेसीलाई आफ्नै देशमा पनि पराईजस्तो गरिने व्यवहारलाई व्यंग्य कस्दै गरेको कमेडी मधेसीहरूले नै नबुझेकोमा उनले गुनासो पोखे । युटुबमा मधेसीबारे कमेडी गरेवापत् उनले धेरै गाली खाए ।
नेपालको पहिलो ‘स्ट्यान्डप कमेडियन’ केपी ओली हुन्
अपुर्व भन्छन्, ‘कमेडीमा यस्ता धेरै विषयहरू छन् जसमा दायरा भन्दाबाहिर जान मिल्दैन । उदाहरणको लागि, धर्म, राजनीति र अन्य यस्ता धेरै संवेदनशील विषयहरू छन् जसमा मजाक गर्न मिल्दैन । तर आफूलाई देशका राजनीतिज्ञ नै ठूलो कमेडियन लाग्छ ।’ केपी ओली नै सबभन्दा ठूलो कमेडियन लाग्ने उनले बताए । उनी भन्छन्, ‘फस्ट स्ट्यान्डप कमेडियन अफ नेपाल नै केपी ओली हुन । हावाका कुराहरू धेरै गर्छन् उनी ।’
कमेडिमात्रै गरेर छाक टार्ने अवस्था छैन
पेशाले अपुर्व ‘चाटर्ड एकाउन्टेन्ट’ हुन् । उनी भन्छन्, ‘जसमा कमेडी छ त्यसमा पैसा आउँदैन, अर्कोमा आउँछ तर त्यसमा कमेडी छैन् । कमेडीले बोडी, आलु, इसकुसको तरकारी खान पुग्छ तर मासु खान पुग्दैन । अहिलेको अवस्थामा कमेडीले जिविकोपार्जन गर्न सकिदैन । दर्शकहरू घरमै बसेर १० मिनेटको युट्युब भिडियो हेर्छन् तर लाइभ सो हेर्न आउँदैनन् ।’
सित्तैमा कमेडी सो गर्दा पनि दर्शक नआउने उनको गुनासो छ । ‘फ्रि हुँदा त आउँदैनन्, पछि पैसा तिरेर हेर्न के आउलान् र ?’, उनले थपे । त्यसैले अहिले कमेडियनहरूलाई कमेडी नै गरेर टिक्न गर्न गाह्रो छ । ‘चाटर्ड एकाउन्टेन्ट’ भए पनि उनले जीवनको पहिलो कमाइ नै कमेडीबाट गरे । ‘त्यो पहिलो कमाइ बुवालाई दिएँ । बुवालाई लाग्यो सिएबाट कमाएको पैसा हो’, उनले हाँस्दै भने ।