बीना मगरका भजनमण्डलीले सिर्जना त्रिपाठीमाथि किन अन्याय गरे ?
नेपालआज । मंसिर ३ मा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का एकमात्र पुत्र साकार दाहाल ‘प्रकाश’ बितेको एक वर्ष पूरा भयो । एक वर्षपछि उनलाई सम्झिने धेरैले विभिन्न तरिकाले श्रद्धासुमन प्रकट गरे । अध्यक्ष प्रचण्डको परिवार र सचिवालले प्रकाशको सम्झनामा एक स्मारिका पनि प्रकाशित गर्यो । अल्पायुमै भौतिक शरिर छाडेका प्रकाशको स्मृतिमा प्रतिष्ठान खोल्ने तयारी पनि भएको छ ।
प्रकाशको निधनपछि उनकी आमा सीता दाहालको स्वास्थ्य बिग्रेको छ । शारीरिकरुपले पहिलेदेखि नै अस्वस्थ सीतामा मानसिक पीडा पनि थपियो । एकमात्रै छोरो गुमाउनुको पीडा कस्तो हुन्छ, त्यो भोग्नेलाई मात्रै थाहा हुन्छ । यो मानवीय संवेदनाप्रति कसैको फरक धारणा हुन हुँदैन ।
यति भएर पनि केही कुरा छन, जुन उल्लेख गर्नै पर्ने भएको छ । प्रकाशको स्मृतिमा प्रकाशित स्मारिकामा दुई छोरा प्रशिद्ध र प्रणवको नाम छ । सबैलाई थाहा भएको हो कि प्रकाशकी वैधानिक पत्नी सिर्जना त्रिपाठी हुन् । बीना मगर ल्याइते हुन् । सिर्जनाबाट पुत्र प्रशिद्धको जन्म भएको थियो । प्रकाशले आफू विवाहित हुँदा हुँदै बीना मगरलाई भगाए । प्रकाश विवाहित हुन् भन्ने जान्दा जान्दै बीना मगर पनि प्रकाशसँग भागेर विवाह गरिन् । कानुनी हिसाबले प्रकाश र बीना दुवैले नेपालको कानुनविपरीत कार्य गरे ।
बीना मगरलाई भगाएपछि दाहाल परिवारले सिर्जनालाई राम्रो व्यवहार गरेन भन्न थालियो । अन्ततः सिर्जनाले घर छाडेर केही समय माइती पोखरा बसिन् । अहिले छोरा पढाउन काठमाडौंमै छिन् ।
प्रकाशको स्मृतिमा प्रकाशित स्मारिकामा पत्नीको रुपमा बीना मगरको नाम छ । सिर्जनाको नाम छैन । सिर्जनाको नाम राख्दा बीना मगर रिसाउने भएकोले स्मारिका छपाउनेहरुले एकजनाको मात्रै नाम राखेको हुनुपर्छ ।
जीवनमा तीन वटा विवाह गरेका प्रकाश व्यक्तिगत रुपमा मिलनसार थिए भन्ने कुरा एक वर्षपछि धेरै मानिसहरुले फेसबुकमा उनको तस्बीर राखेर सम्झना गरेबाट पनि थाहा हुन्छ । मानिसका राम्रा मात्रै होइनन् केही नकारात्मक पाटा पनि हुन्छन् । प्रचण्ड परिवारले प्रकाश हुँदा त सिर्जनामाथि अन्याय गरेकै थियो । उनको निधनपछि पनि सिर्जनालाई पत्नीकै मान्यता दिन नखोज्नु कुनै अर्थमा न्यायसंगत लाग्दैन ।
स्मारिकामा सिर्जनाको नाम नराख्नमा सचिवालयका ‘भजनमण्डली’हरुको हात हुन सक्छ । प्रचण्ड परिवार, बीना मगरलाई खुसी पार्न जे जे गर्नुपर्छ त्यही त्यही गर्दै जानेहरुको झुण्ड क्रियाशील रहेछ भन्ने यो एक उदाहरण हो । राजा राणवहादुर शाहलाई उनका हनुमानहरुले ‘मौसुफ त विष्णुका अवतार होइबक्सन्छ, हजुरले जसलाई पनि विवाह गर्न मिल्छ, मन नपरेकाहरुलाई चार भञ्ज्याङ कटाउन पनि मिल्छ’ भनेर उचाल्थे । राजा जे भन्दा खुसी हुन्छन् त्यही भनिदिन्थे ।
प्रचण्डको सचिवालय वा स्मारिक प्रकाशन गर्ने भजनमण्डलीको शैली पनि त्यस्तै लाग्छ, बीना मगरलाई जे लेखिदिँदा उनी खुसी हुन्छिन् त्यसै लेखिएको छ । प्रकाशका दुई पत्नी थिए, पहिलो सिर्जना र दोस्रो ल्याइते बीना । यो सत्य नलेखेर एक महिलामाथि अन्याय गर्न महान तथा गौरवशाली पार्टीका अध्यक्ष कमरेड प्रचण्डका भजनमण्डलीहरुलाई सुहाउँछ ? (टिप्पणी)